१ तिमोथी 6:6-21
१ तिमोथी 6:6-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं। तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्। तर परमेश्वरका जन तिमीले यी सबै त्याग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख। विश्वासको उत्तम लड़ाइँ लड़। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ। सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्ट येशूको सामने, म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरुञ्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख। अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ। उहाँमा नै अमरत्व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन। यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्। तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्। यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो। तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर। यी कुराहरूका पछि लागेर कति जना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।
१ तिमोथी 6:6-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ। तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ। जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्। तर हे परमेश्वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग। विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ। प्रत्येकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको सामु असल विश्वासको गवाही दिनुहुने ख्रीष्ट येशूको दृष्टिमा, म तिमीलाई यो आदेश दिन्छु: प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख, जसलाई परमेश्वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ। उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन। वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ। तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ। यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्चै नै आउने युगको साँचो जीवन हो। हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस। यस्ता कुराहरूलाई स्वीकार गरेर कति जना त आफ्नो मूल विश्वासबाट तर्किगएका छन्।
१ तिमोथी 6:6-21 पवित्र बाइबल (NERV)
निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने। जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं। यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं। तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ। पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्। तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन। यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ। धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्। तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन। कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्। परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।
१ तिमोथी 6:6-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हुन त हो, ऊ आफूसँग भएको कुरामा सन्तोष छ भने भक्तिले धेरै धनी हुनेछ। जन्मँदा हामीले के लिएर आयौं? अनि मर्दा के पो लिएर जानेछौं र? त्यसो भए त हामीलाई खान र लाउन पाए त पुगिहाल्यो नि तर धनी हुन खोज्ने मानिस पापमा पार्ने कुरामा फस्दछ। ऊ मूर्ख र हानि गर्ने इच्छाहरूको पासोमा पर्दछ। यी खराब इच्छाहरूले उसलाई डरलाग्दो नाश र नरकमा पुर्याउँछ किनभने सब किसिमको खराबीको मूल नै धनसम्पत्तिको माया हो। कति मानिसले त धन कमाउने लोभमा लागेर विश्वास गर्न छोडिदिएका छन्। अनि दु:खले तिनीहरूको मन नै छियाछिया भएको छ। परमेश्वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्गै बस। तिमीले परमेश्वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्नो मन लगाऊ। विश्वासको लडाइँमा राम्ररी लड्न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्नेमा आफ्नो साँचो साक्षी दिएको हो। सबै थोकलाई जीवन दिने परमेश्वर र पन्तियस पिलातसकै सामुन्नेमा साँचो साक्षी दिने ख्रीष्ट येशूकै अगाडि म तिमीलाई यो आज्ञा दिंदै छु, तिमीले हाम्रा प्रभु येशू ख्रीष्ट नआउञ्जेल तिमीले पाएको आज्ञा राम्ररी मान र कसैले दोष लगाउन नपाओस्। परमेश्वरले उहाँलाई ठीक समयमा फेरि पठाउनुहुनेछ। परमेश्वर नै सबै शक्तिका मालिक, राजाहरूका पनि राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। उहाँ सधैँभरि रहने र कोही पुग्न नसक्ने उज्यालोमा रहनुहुन्छ। उहाँलाई कसैले पनि अहिलेसम्म देखेको छैन र देख्न पनि सक्दैन। सधैँभरि रहने शक्ति र आदर उहाँमै रहोस्। आमेन। अहिले यस संसारमा धनी हुनेहरूलाई घमण्डी नहुनू भन। तिनीहरूका धन-सम्पत्ति सधैँ रहने होइन तर हाम्रो सुखका लागि प्रशस्त गरी सबै कुरा दिने परमेश्वरमै भरोसा राख भनेर आज्ञा देओ। भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन। यसरी तिनीहरूले पछि आफ्नो साँचो जीवनमा काम लाग्ने धनसम्पत्ति जम्मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्न सक्नेछन्। तिमोथी, तिम्रो जिम्मामा दिएका कुरालाई राम्ररी हेरचाह गर। कतिपय मानिसहरूले संसारका मूर्ख कुरा र ‘ज्ञान’ भनेर मानेको झूटो कुराबाट अलग होओ किनभने कतिले यस्ता कुरामा लाग्दा विश्वासको बाटै हराएका छन्। तिमीहरू सबैसँग परमेश्वरको अनुग्रह रहोस्।