१ तिमोथी 4:1-16
१ तिमोथी 4:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्। झूट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ। तिनीहरू विवाह निषेध गर्छन्। विश्वास गर्नेहरू र सत्य जान्नेहरूले धन्यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृजनुभएका भोजनहरूबाट अलग्ग बस्ने आदेश दिन्छन्। परमेश्वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्कार गरिनुपर्दैन। किनभने त्यो परमेश्वरको वचन र प्रार्थनाले चोखो तुल्याइन्छ। यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्त र विश्वासको वचनमा पुष्ट भएर तिमी ख्रीष्ट येशूका असल सेवक हुनेछौ। भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ। किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ। यो भनाइ निश्चित र सम्पूर्ण रूपले ग्रहणयोग्य छ, किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। यी नै कुराको आज्ञा देऊ र सिकाऊ। जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ। तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्डरहरूले तिनीहरूका हात तिमीमाथि राख्दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो। यी कर्तव्यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
१ तिमोथी 4:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पवित्र आत्माले प्रष्ट गरी भन्नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका शिक्षाको पछि लाग्नेछन्। यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ। तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्ने आदेश दिन्छन्। जुन भोजन विश्वास गर्नेहरू र सत्यता जान्नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो। किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन। किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ। यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्ट येशूका असल सेवक हुनेछौ। भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ। किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ। यो भनाइ विश्वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ। हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ। तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन। म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ। मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानको अवहेलना नगर। यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्। आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
१ तिमोथी 4:1-16 पवित्र बाइबल (NERV)
पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्। यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ। ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्। पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ। यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुशरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ। मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्। यिनै कुराहरूका आदेश र शिक्षा देऊ। तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ। म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
१ तिमोथी 4:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पवित्र आत्माले प्रष्टै भन्नुहुन्छ, पछिपछि कति मानिसहरूले विश्वासै गर्न छोड्नेछन्। उनीहरूले भर्माउने आत्माका कुरा सुन्नेछन् अनि भूतले दिएका शिक्षा मान्नेछन्। यस्ता शिक्षाहरू झूटा कपटी मानिसबाट आउँछ, जसको विवेक रन्केको फलामले डामेर मरिसकेको हुन्छ। यिनीहरूले विवाह गर्नुहुँदैन र कति कुराचाहिँ खानुहुँदैन भनेर मानिसहरूलाई सिकाउँछन्। तर विश्वास गर्ने र सत्यलाई चिन्नेहरूले धन्यवाद चढाएर यी खाने कुराहरू खानुहुन्छ किनभने परमेश्वरले नै यी कुरा सृष्टि गर्नुभएको हो। परमेश्वरबाट सृष्टि भएका सबै कुराहरू राम्रा छन्। परमेश्वरलाई धन्यवाद ग्रहण गरेमा कुनै थोक पनि इन्कार गरिदिनुपर्दैन किनभने परमेश्वरको शिक्षा र प्रार्थनाले नै त्यसलाई चोखो तुल्याउँछ। विश्वासको शिक्षा र तिमीले भन्दैआएका सत्य सन्देशमा तिमी हुर्किरहेका छौ। यिनै कुराहरू तिमीले ख्रीष्टिय भाइहरूलाई पनि सिकायौ भने त तिमी ख्रीष्ट येशूका लागि राम्रो सेवा गर्ने हुनेछौ। ईश्वरहीन र अर्थहीन दन्त्यकथाहरूलाई नमान्नू तर भक्तिको जीवन बिताउन अभ्यास गर्नू। शरीरको कसरतमा लाग्यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्छ। तर आत्माको कसरत गर्यौ भने धेरै कुराको फाइदा हुन्छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्ति प्रतिज्ञा दिन्छ। यो विश्वास गरेर मान्नुपर्ने साँचो कुरा हो। यसकारणले हामी दिलोज्यानले काम गर्छौं किनभने हामी हाम्रो जिउँदो परमेश्वरबाट कहिल्यै निराश हुँदैनौं। उहाँ नै सबै मानिसहरूलाई खास गरी उहाँमा विश्वास राख्ने जतिलाई छुटकारा दिने परमेश्वर हुनुहुन्छ। यी नै कुराहरूलाई जोड दिएर तिमी पनि सिकाउने गर। तन्नेरी भएको कारणले कसैले पनि तिमीलाई हेंला गर्न नपाओस्। तर तिम्रो बोली-वचन, चालचलन, प्रेम, विश्वास र शुद्धतामा तिमी एउटा नमुना बन्न सक। म नआउञ्जेल तिमीले मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाऊ, साहस देऊ र शिक्षाहरू दिने गर। तिमीले पाएको दानलाई हेलचेक्र्याइँ नगर। त्यो दान अगमवक्ताले बोल्दा र मण्डलीका धर्म-गुरुहरूले तिमीमाथि हात राख्दा तिमीलाई मिलेको दान हो। तिम्रो सम्पूर्ण ध्यान र भएभरको शक्ति यिनै सिकाएका कुराहरूमा लगाऊ र तिमीले गरेको उन्नति सबैले देखून्। आफ्नो बारेमा र आफूले दिएको शिक्षाको बारेमा राम्ररी चनाखो होऊ। यी कुरामा लागिरह्यो भने आफू र आफ्ना कुरा सुन्नेहरू दुवै थरीले मुक्ति पाउनेछन्।