YouVersion लोगो
खोज आइकन

१ शमूएल 7:1-13

१ शमूएल 7:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब किर्यत-यारीमका मानिसहरू आएर परमप्रभुको सन्‍दूक लगे। तिनीहरूले डाँड़ामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए, र तिनका छोरा एलाजारलाई त्‍यसको हेरचाह गर्ने काममा अर्पण गरे यसरी धेरै समयसम्‍म, अर्थात्‌ कुल बीस वर्षसम्‍म सन्‍दूक किर्यत-यारीममा रह्यो, र इस्राएलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे। अनि शमूएलले समस्‍त इस्राएल जातिलाई यसो भने, “यदि तिमीहरू आफ्‍ना पूरा मनले परमप्रभुतिर फर्कंदछौ भने तिमीहरूका माझबाट पराई देवताहरू र अश्‍तोरेत देवताहरूलाई निकालिदेओ, आफ्‍ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क, र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिश्‍तीहरूका हातबाट मुक्त गर्नुहुनेछ।” यसरी इस्राएलीहरूले बाल देवताहरू र अश्‍तोरेत देवताहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे। तब शमूएलले भने, “सबै इस्राएलीहरूलाई मिस्‍पामा भेला गराओ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु।” जब तिनीहरू त्‍यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्‍ने खन्‍याए। त्‍यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्‍यौं” भनी स्‍वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्‍पामा इस्राएलका अगुवा भए। इस्राएलीहरू मिस्‍पामा भेला भएका छन्‌ भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरूका शासकहरू इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई निस्‍के। पलिश्‍तीहरू अगि बढ्‌दैआएको कुरा सुनेर इस्राएलीहरू डराए। तिनीहरूले शमूएललाई भने, “पलिश्‍तीहरूका हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रा परमेश्‍वरसित प्रार्थना गर्न नछोड्‌नुहोस्‌।” तब शमूएलले भेड़ाका एउटा दूधे बच्‍चा लिएर होमबलि चढ़ाए, र इस्राएलको निम्‍ति परमप्रभुसँग कराएर प्रार्थना गरे। अनि परमप्रभुले तिनका प्रार्थनाको उत्तर दिनुभयो। तब शमूएलले होमबलि चढ़ाइरहँदा, पलिश्‍तीहरू इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। तर त्‍यस दिन परमप्रभु पलिश्‍तीहरूका विरुद्धमा ठूलो सोरले गर्जनुभयो र पलिश्‍तीहरूका बीचमा खलबली पार्नुभयो। आतङ्कले भरिएर उनीहरू इस्राएलको सामुबाट भागे। इस्राएलीहरू मिस्‍पाबाट पलिश्‍तीहरूलाई खेद्‌दै निस्‍के, र बेथ-करको मुन्‍तिरसम्‍म उनीहरूलाई मार्दैरहे। त्‍यही नै मिस्‍पा र शेनको बीचमा शमूएलले स्‍मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे। त्‍यसलाई एबेन-एजेर भन्‍ने नाउँ राखे। तिनले भने, “परमप्रभुले यहाँसम्‍म हामीलाई सहायता गर्नुभएको हो।” यसरी पलिश्‍तीहरू वशमा पारिए, र इस्राएलको इलाकाभित्र फेरि पसेनन्‌। शमूएलको जीवनभरि नै परमप्रभुको हात पलिश्‍तीहरूका विरुद्धमा रह्यो।

शेयर गर्नुहोस्
१ शमूएल 7 पढ्नुहोस्

१ शमूएल 7:1-13 पवित्र बाइबल (NERV)

किर्यात्-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए। किर्यात्-यारीमा उक्त सन्दूक बीस बर्षसम्म रह्यो। इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे। शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समर्पित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।” यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले। शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।” इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए। पलिश्तीहरूले इस्राएलीहरू मिस्पामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिश्ती शासकहरू इस्राएलीहरू विरूद्ध युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिश्तीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले। इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।” शमूएलले एउटा भेंडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेंडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो। जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्‌दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे। त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान” नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।” पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो।

शेयर गर्नुहोस्
१ शमूएल 7 पढ्नुहोस्

१ शमूएल 7:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसकारण किर्यत-यारीमका मानिसहरूले परमप्रभुको करारको सन्‍दुक लगेर गए अनि एक जना पहाडमा बास गर्ने अबीनादाब नाम गरेका मानिसको घरमा पुर्‍याए। तिनको छोरो एलाजारलाई सन्‍दुकको जिम्‍मा लिनलाई तिनीहरूले अर्पण गरे। धेरै समयसम्‍म प्राय: बीस वर्षसम्‍म करारको सन्‍दुक किर्यत-यारीममा राखियो। त्‍यस बेला सबै इस्राएलीहरूले मद्दतको लागि पुकारे। शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू पूरा हृदयले परमप्रभुकहाँ फर्कन्छौ भने तिमीहरूले सबै पराई देवी-देवताहरू र अश्‍तोरेत देवीका मूर्तिहरू हटाउनुपर्नेछ। तिमीहरू आफैंलाई पूर्णरूपमा परमप्रभुलाई अर्पण गर र उहाँको मात्र आराधना गर अनि उहाँले तिमीहरूलाई पलिश्‍तीहरूका हातबाट बचाउनुहुनेछ।” यसकारण इस्राएलीहरूले बाल र अश्‍तोरेतका मूर्तिहरू हटाइदिए र परमप्रभुलाई मात्र आराधना गरे। तब शमूएलले सबै इस्राएलीहरूलाई मिस्‍पामा भेट गर्न बोलाउन पठाए र भने, “तिम्रा निम्‍ति म परमप्रभुलाई प्रार्थना गर्नेछु।” यसकारण तिनीहरू सबै जना मिस्‍पामा भेला भए। तिनीहरूले पानी भरेर ल्‍याए अनि परमप्रभुको अघि भेटीको रूपमा खन्‍याए र त्‍यस दिनभरि उपवास बसे। तिनीहरूले भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं।” (मिस्‍पामा नै शमूएलले इस्राएलीहरू माझका झैझगडा मिलाइदिएका थिए।) पलिश्‍तीहरूले इस्राएल मिस्‍पामा भेला भएको कुरा सुने र तिनका पाँच जना राजाहरू आ-आफ्‍ना सेनासित तिनीहरूमाथि हमला गर्न अघि बढे। त्‍यो कुरा सुनी इस्राएलीहरू डराए र तिनीहरूले शमूएललाई भने, “हामीलाई पलिश्‍तीहरूदेखि बचाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गरिरहनुहोस्।” शमूएलले एउटा भर्खरको थुमा मारेर परमप्रभुलाई जम्‍मै होमबलि चढाए। त्‍यसपछि इस्राएलको मद्दतको लागि परमप्रभुलाई बिन्‍ती गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो। शमूएलले बलि चढाउँदै गरेको बेलामा हमला गर्न भनी पलिश्‍तीहरू अघि बढे। तर ठीक त्‍यति बेला नै तिनका विरुद्धमा परमेश्‍वर गर्जनुभयो। तिनीहरूका बीचमा पूरा खलबली मच्‍चियो र तिनीहरू डराएर भागे। इस्राएलीहरू मिस्‍पाबाट निस्‍किआए र पलिश्‍तीहरूलाई बाटोमा मार्दै बेथ-करसम्‍म खेदेर लगे। तब शमूएलले एउटा ढुङ्गा लिएर मिस्‍पा र शेनका बीचमा खडा गरे र भने, “परमप्रभुले हामीलाई सारा यात्रामा मद्दत गर्नुभएको छ।” र त्‍यस ठाउँको नाम एबेन-एजेर (‘सहायताको चट्टान’) राखे। यसरी पलिश्‍तीहरूले हारे र शमूएलको जीवनकालभरि इस्राएल देशमा हमला गर्नदेखि परमप्रभुले तिनीहरूलाई रोक्‍नुभयो।

शेयर गर्नुहोस्
१ शमूएल 7 पढ्नुहोस्