१ शमूएल 3:1-18
१ शमूएल 3:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो, अनि दर्शन पनि उस्तो दिइँदैनथ्यो। एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए, र तिनले राम्ररी देख्न सक्दैनथे। शमूएलचाहिँ परमेश्वरको सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेको थियो। परमेश्वरको बत्ती निभेको थिएन। तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।” अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” तब तिनी गएर सुते। परमप्रभुले फेरि शमूएललाई बोलाउनुभयो। अनि तिनी उठेर एलीकहाँ गए र तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभयो।” एलीले भने, “मेरो छोरो, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” अब शमूएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन। परमप्रभुले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।” तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे। उनले शमूएललाई भने, “ढल्किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्नू, ‘परमप्रभु, भन्नुहोस्, तपाईंको दास सुन्दैछ’।” तब शमूएल गएर आफ्नो ठाउँमा ढल्किए। तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।” अनि परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछन्। जब त्यो दिन आउनेछ तब मैले एली र त्यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्मै म पूरा गर्नेछु। मैले त्यसलाई भनेको थिएँ, कि म त्यसका परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरुद्धमा त्यसका छोराहरूले आफूलाई घृणास्पद बनाएका जानेर पनि त्यसले तिनीहरूलाई रोकेन। यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।” शमूएल बिहानसम्मै सुतिरहे। त्यसपछि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले। त्यस दर्शनको विषयमा एलीलाई भन्न तिनी डराए, तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।” तिनले भने, “म यहाँ छु।” एलीले सोधे, “परमप्रभुले तँलाई के भन्नुभयो? मलाई त्यो नलुकाई भन्। उहाँले तँलाई भन्नुभएका सबै कुरामा एउटै कुरा लुकाइस् भने पनि परमेश्वरले तँसित कठोरतासाथ व्यवहार गरून्।” यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्। एलीले भने, “उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको दृष्टिमा जे कुरो ठीक छ, सो गरून्।”
१ शमूएल 3:1-18 पवित्र बाइबल (NERV)
एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन। एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।” शमूएल आफ्नो ओछ्यानमा गए। परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।” एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।” अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन। परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।” त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।’” यसकारण शमूएल ओछ्यानमा गए। परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!” शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।” परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। मैले एली र त्यसको परिवारको विरूद्धमा जे-जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु। मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैँको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्। यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।” बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए। तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।” एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।” शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”
१ शमूएल 3:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो। एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए। परमेश्वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए। तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।” अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के। याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।” तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन। तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए। यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के। याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।” याहवेहले शमूएललाई भन्नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्नेहरूका कान झन्झनाउनेछन्। त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु। किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन। यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ” शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्न उनी डराए, तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।” एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।” यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्टिमा जे ठिक लाग्छ, त्यही गरून्।”
१ शमूएल 3:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती दिनमा बालक शमूएलले एलीका अधीनमा रही परमप्रभुको सेवा गरेका बेलामा परमप्रभुको वचन र दर्शन दुवै कम पाइन्थे। एक रात एली आफ्नो कोठामा सुतिरहेका थिए, उनका आँखा राम्ररी नदेख्ने भएका थिए। जहाँ पवित्र करारको सन्दुक राखिएको थियो, त्यहाँ शमूएल सुतिरहेका थिए। मिरमिरे उज्यालोमा बत्ती बलिरहेकै थियो, परमप्रभुले शमूएललाई बोलाउनुभयो। तिनले उत्तर दिए, “हजुर, म यहाँ छु!” र दगुरेर एलीकहाँ गई भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले उत्तर दिए, “मैले तँलाई बोलाइनँ, गएर सुत्।” शमूएल गएर ओछ्यानमा सुते। परमप्रभुले शमूएललाई फेरि बोलाउनुभयो। मलाई बोलाउने परमप्रभु हुन् भनी उनले थाहा पाएनन् किनभने अघि कहिल्यै परमप्रभु तिनीसित बोल्नुभएको थिएन। यसकारण तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तर एलीले भने, “छोरो, मैले तँलाई बोलाइनँ, गएर सुत्।” परमप्रभुले शमूएललाई तेस्रोपल्ट बोलाउनुभयो। तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तब एलीले थाहा पाए कि केटोलाई बोलाउनुहुने परमप्रभु हुनुहुँदो रहेछ। यसकारण उनले केटोलाई भने, “गएर सुत्। फेरि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्नू, ‘आज्ञा होस्, परमप्रभु, तपाईंको सेवकले सुनिरहेको छ।” यसकारण शमूएल फेरि ओछ्यानमा गए। परमप्रभु आएर त्यहाँ उभिनुभयो र उहाँले पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!” शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।” परमप्रभुले त्यसलाई भन्नुभयो, “कुनै दिन इस्राएलीहरूसित म यस्तो डरलाग्दो कुरा गर्नेछु कि त्यो सुन्ने हरेकको टाउको रन्थनिनेछ। त्यस दिन मैले एलीका परिवारका विरुद्धमा दिएका सबै हप्काइ सुरुदेखि अन्तसम्म पूरा गर्नेछु। मैले एलीलाई पहिले नै, ‘तेरा छोराहरूले मेरो विरुद्धमा भ्रष्ट कुरा गरेका कारणले म तेरो परिवारलाई सदाकालको निम्ति दण्ड दिनेछु’ भनी भनिसकेको छु। तिनीहरूले त्यसो गर्दै छन् भनी एलीले जान्दथ्यो; तर त्यसले तिनीहरूलाई रोकेन। यसकारण म एलीका परिवारलाई गम्भीरतासाथ भन्दै छु कि यस भयङ्कर पापको फल कुनै बलिदान वा भेटीले कहिल्यै मेट्न सक्नेछैन।” शमूएल बिहानसम्म ओछ्यानमा लडिरहे। त्यसपछि तिनी उठेर परमप्रभुको मन्दिरका ढोकाहरू खोले। एलीलाई त्यस दर्शनबारे बताउन तिनलाई डर लागेको थियो। एलीले त्यसलाई बोलाए, “शमूएल, मेरो छोरो!” “हजुर!” शमूएलले उत्तर दिए। “परमप्रभुले तँलाई के भन्नुभयो?” एलीले सोधे, “मदेखि केही कुरा नलुका। उहाँले भनेका सबै कुरा तैँले मलाई भनिनस् भने परमेश्वरले तँलाई सजाय दिनुहुनेछ।” यसकारण शमूएलले सबै कुरा भने, तिनले केही लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु भन्नुहुन्छ। उहाँलाई जे कुरा असल लाग्दछ, त्यो उहाँले गर्नुहुनेछ।”