YouVersion लोगो
खोज आइकन

१ शमूएल 27:1-12

१ शमूएल 27:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदले यस्‍तो विचार गरे, “एक न एक दिन त शाऊलले मलाई मार्नेछन्‌। यसकारण पलिश्‍तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला। तब इस्राएलको कुनै पनि ठाउँमा खोज्‍न शाऊलले छोड्‌नेछन्, र म उनको पन्‍जाबाट उम्‍कनेछु।” यसैले दाऊद र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए। दाऊदले आफूसँग आफ्‍ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्‍नी, अर्थात्‌ यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्‍न लागे। दाऊद गातमा भागेर गएका छन्‌ भनी जब शाऊललाई सुनाइयो, उनले दाऊदलाई खोज्‍न छोड़िदिए। दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्‌। म किन तपाईं महाराजासित राजधानीमा बस्‍नू?” यसकारण आकीशले त्‍यस दिन तिनलाई सिक्‍लग दिए, त्‍यो अझै पनि यहूदाका राजाहरूको भएको छ। दाऊद पलिश्‍तीहरूको देशमा एक वर्ष चार महिनासम्‍म बसे। दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्‍कन्‍थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्‍मैका बासिन्‍दा भएर बसेका थिए।) जब दाऊदले कुनै देश लूटपीट गर्थे तब तिनले पुरुष अथवा स्‍त्री कसैलाई पनि जीवित राख्‍दैनथे। तिनले भेड़ाबाख्रा र गाई-गोरुका बथान, गधा र ऊँट र लुगाफाटाहरू पनि लगेर फेरि आकीशकहाँ फर्केर आउँथे। आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपीट गर्‍यौ?” भनी सोध्‍थे। तिनी भन्‍थे, “यहूदाको नेगेव देशमा” अथवा “यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।” दाऊदले कुनै पुरुष वा स्‍त्रीलाई जिउँदै गातमा ल्‍याउँदैनथे, किनभने तिनले यस्‍तो विचार गर्थे कि उनीहरूले “दाऊदले यस्‍तो गरेका छन्‌” भनी खबर दिन्‍छन्‌ होला। पलिश्‍तीहरूसँग बसुञ्‍जेल तिनको चाल यस्‍तै थियो। “आफ्‍ना जाति इस्राएलीहरूमा खराब नाउँ कमाएकोले दाऊद आफ्‍नो जीवनभरि नै मेरो सेवक भएर बस्‍नेछ” भनी आकीशले दाऊदमाथि विश्‍वास गरेका थिए।

शेयर गर्नुहोस्
१ शमूएल 27 पढ्नुहोस्

१ शमूएल 27:1-12 पवित्र बाइबल (NERV)

तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।” यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए, दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्। मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे। दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।” त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाँहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ। दाऊद पलिश्तीहरूसँग एक बर्ष चार महिना बसे। दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे। दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेंडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए। दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि” अथवा “मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें।” दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।” जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे। आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैंलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैँ मेरो सेवा गर्नेछ।”

शेयर गर्नुहोस्
१ शमूएल 27 पढ्नुहोस्

१ शमूएल 27:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊदले मनमनै भने, “एक न एक दिन शाऊलले मलाई मार्नेछन्। पलिश्‍तमा भागेर जानु मेरो निम्‍ति सबैभन्दा असल हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोजी गर्न छोड्‍नेछन् र मलाई डर हुनेछैन।” यसर्थ तुरुन्‍तै दाऊद र तिनका छ सय मानिसहरू माओकको छोरो गातका राजा आकीशकहाँ गए। दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्‍वास्‍नीहरू तिनीसित थिए– एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल। दाऊद भागेर गातमा गएका छन् भन्‍ने सुनेपछि शाऊलले तिनको खोजी गर्न छोडे। दाऊदले आकीशलाई भने, “यदि तपाईं मेरा मित्र हुनुहुन्‍छ भने मलाई बसोबास गर्न एउटा सानो सहर दिनुहोस्। मलाई हजुरसित राजधानीमा बस्‍ने केही जरुरत छैन।” यसकारण आकीशले दाऊदलाई सिक्‍लग सहर दिए। त्‍यसैकारण त्‍यस दिनपछि सदासर्वदा सिक्‍लग यहूदाका राजाहरूको सम्‍पत्ति भएको छ। दाऊद पलिश्‍तमा सोह्र महिनासम्‍म बसे। ती दिनमा दाऊद र तिनका मानिसहरूले गशूर, गिज्री र अमालेकका मानिसहरूमाथि हमला गर्दथे। ती मानिसहरू त्‍यस इलाकामा धेरै दिनदेखि बसोबास गर्दैआएका थिए। तिनले तिनीहरूका देशका शूरसम्‍म र मिश्रदेशसम्‍मै लुटपाट गर्दथे र सबै पुरुष र स्‍त्रीहरूलाई मार्दथे र तिनका भेडा, गाई-गोरु, गधा, ऊँट र लुगाफाटासमेत लुट्दथे। त्‍यसपछि उनी आकीशकहाँ फर्किआउँथे। आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपाट गर्‍यौ?” भनी सोध्‍थे। उनी भन्‍थे, ‘यहूदाको नेगेव देशमा’ अथवा ‘यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।’ दाऊदले सबै पुरुष र स्‍त्रीहरूलाई मार्दथे र कोही पनि गातमा फर्केर गई दाऊद र उनका मानिसहरूले के गरेका थिए, त्‍यसको बयान दिन सक्‍दैनथे। जतिञ्‍जेल दाऊद पलिश्‍तमा बसे, तिनले त्‍यसै गरिरहे। तर आकीशले दाऊदलाई विश्‍वास गर्थे र मनमा यसरी सोच्‍दथे, “तिनका आफ्‍ना प्रजा इस्राएलीहरूले तिनलाई यति घृणा गर्छन् कि जीवनभरि तिनले मेरो सेवा गर्नुपर्नेछ।”

शेयर गर्नुहोस्
१ शमूएल 27 पढ्नुहोस्