YouVersion लोगो
खोज आइकन

१ शमूएल 26:1-25

१ शमूएल 26:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जीपीहरू गिबामा शाऊलकहाँ गएर यशीमोनतिर फर्केको हकीलाको पहाड़मा दाऊद लुकेका छन्‌ भनी सुनाइदिए। यसकारण दाऊदलाई त्‍यहाँ खोज्‍न भनी शाऊल तीन हजार चुनेका मानिसहरू आफ्‍नो साथमा लिएर झट्टै जीपको मरुभूमिमा झरे। यशीमोनतिर फर्केको हकीलाको पहाड़का छेउको बाटैमा उनले आफ्‍नो छाउनी हाले। तर दाऊदचाहिँ मरुभूमिमा नै बसे। शाऊल तिनलाई मरुभूमिमा खेद्‌नलाई आएका छन्‌ भनी सुन्‍ने बित्तिकै, दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन्‌ भनी पत्ता लगाए। कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्‍नो फौजका चारैतिरको छाउनी बनाएर पङ्‌क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए। दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्‍छ?” अबीशैले जवाफ दिए “म जानेछु।” दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्‌क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए। अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्‍पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्‌। मैले दुई खेप हिर्काउनैपर्दैन।” तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्‍छ?” दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन्‌ अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्‌। तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्‌। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।” तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्‍यूँझेन। परमप्रभुबाट पठाइएको मस्‍त निद्रामा उनीहरू सुतिरहेका थिए। तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो। दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?” दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्‍तै अरू कोही छन्‌? तिमीले किन आफ्‍ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो। यो त ठीक भएन। जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ, किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको रक्षा गरेनौ। हेर त, उहाँको सिरानका छेउको भाला र पानीको सुराही खोइ?” शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?” दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।” मेरा प्रभुले उहाँको दासको खेदो किन गर्नुहुन्‍छ? मैले के गरेको छु र? कुन खराबीको म दोषी भएको छु र? हे मेरा प्रभु महाराजा, मैले जे भन्‍नु छ सो ध्‍यान दिएर सुन्‍नुहोस्‌। यदि परमप्रभुले नै हजूरलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको हो भनेता एउटा भेटी उहाँलाई ग्रहणयोग्‍य होस्‌। तर यदि मानिसहरूले गरेको हो भने परमप्रभुको सामुन्‍ने तिनीहरूमाथि सराप परोस्‌। किनभने आज ‘त्‍यसले अरू देवताहरूको सेवा गरोस्‌’ भनी तिनीहरूले परमप्रभुका अधिकारको भागबाट मलाई निकालिदिएका छन्, र परमप्रभुको सामुन्‍नेबाट टाढ़ामा मेरो रगत बग्‍न नदिनुहोस्‌। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्‍न निस्‍केर आउनुभएको छ।” तब शाऊलले जवाफ दिए, “मैले पाप गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्‍य ठान्‍यौ, अब फेरि कहिल्‍यै म तिम्रो हानि गर्नेछैनँ। म मूर्ख भएँ, मैले साह्रै ठूलो भूल गरें।” दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्‍यो लैजाओस्‌। परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें। जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्‍य सम्‍झें, त्‍यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्‍य सम्‍झून्, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्‌।” तब शाऊलले दाऊदलाई भने, “हे मेरा छोरा दाऊद, आशिष्‌ तिमीमाथि परोस्‌। तिमीले ठूला-ठूला कामहरू गर्नेछौ, र तिमी विजयी हुनेछौ।” तब दाऊद आफ्‍नो बाटो लागे, र शाऊलचाहिँ घर फर्के।

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्

१ शमूएल 26:1-25 पवित्र बाइबल (NERV)

जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।” शाऊल जीपको मरुभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरुभूमितिर दाऊदलाई खोजे। शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए। दाऊद त्यही मरुभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो। यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर। दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए। दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?” अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।” जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसँगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए। अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।” तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ। साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।” यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझियो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो। दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए। दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!” अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?” दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो। तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही खोई, कहाँ छन्?” शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?” दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।” दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ? हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’ मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।” तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।” दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्। परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहँदिन। आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।” दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्

१ शमूएल 26:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जीपबाट केही मानिसहरू शाऊलकहाँ गिबामा आए र यहूदी यशीमोनको किनारमा भएको हकीला डाँडामा दाऊद लुकेका छन् भनी सुनाइदिए। शाऊल तुरुन्‍तै इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर दाऊदलाई खोज्‍दै जीपका मरुस्‍थलमा गए र हकीला डाँडाको बाटोमा छाउनी हाले। दाऊद मरुस्‍थलमा नै थिए र शाऊल मलाई खोज्‍न आएका छन् भनी थाहा पाएर उनले जासूसहरूलाई पठाए र त्‍यहाँ शाऊल साँच्‍चै आएका रहेछन् भनी बुझे। उनी तुरुन्‍तै गएर शाऊल र अबनेर सुतेका ठाउँ पत्ता लाएर आए। नेरको छोरो अबनेर शाऊलका सेनापति थिए। पालभित्र शाऊल सुत्‍थे र तिनका चारैपट्टि तिनका मानिसहरूले छाउनी हालेका थिए। तब दाऊदले हित्ती अहीमेलेक र योआबको भाइ अबीशैलाई (तिनीहरूकी आमा सरूयाह थिइन्) सोधे, “तिमी दुईमा को मसित शाऊलको छाउनीमा जाने?” “म जान्‍छु,” अबीशैले भने। त्‍यो रात दाऊद र अबीशै शाऊलको छाउनीभित्र पसे र तिनलाई आफ्‍नो भाला टाउकाको छेउ भूइँमा गाडेर पालमा सुतिरहेका भेट्टाए। तिनका चारैपट्टि अबनेर र तिनका सिपाहीहरूको टोली सुतिरहेको थियो। अबीशैले दाऊदलाई भने, “आज राती परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा पारिदिनुभएको छ। अब मलाई उनको आफ्‍नो भालाले एकैपल्‍ट मात्र हानेर तिनलाई छेडी भूइँमा टसाउँन दिनुहोस्। मैले दुईपल्‍ट हिर्काउनुपर्दैन!” तर दाऊदले भने, “तिमीले तिनको हानि गर्नुहुन्‍न। आफूले चुनेका राजालाई चोट पुर्‍याउने मानिसलाई अवश्‍य नै परमप्रभुले दण्‍ड दिनुहुनेछ।” दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्‍दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्‍दछु। जसलाई परमप्रभुले राजा बनाउनुभयो, उनलाई चोट दिने चेष्‍टा गर्नबाट मलाई परमप्रभुले रोकून्! हामी बरु उनका भाला र पानीको सुराही लिएर जाऔं।” दाऊदले शाऊलको शिरको छेउबाट भाला र पानीको सुराही लिए र त्‍यहाँबाट अबीशैसित बिदा भए। त्‍यो कुरा कसैले देखेन र के भयो भनेर कसैले जानेन। तिनीहरू घोर निद्रामा परेका थिए किनभने परमप्रभुले तिनीहरूमाथि घोर निद्रा पठाउनुभएको थियो। त्‍यसपछि दाऊद बेसीको पल्‍लोपट्टि डाँडाको टुप्‍पामा निकै टाढा गए र अबनेर र शाऊलको सेनाको टोलीलाई चिच्‍च्‍याएर भने, “अबनेर! के तिमी मेरो सोर सुन्‍न सक्‍छौ?” “को कराउँदै छ? राजालाई निद्राबाट जगाउने को हो?” अबनेरले सोधे। दाऊदले उत्तर दिए, “अबनेर, के तिमी इस्राएलमा सबैभन्दा महान् व्‍यक्ति होइनौ? तर किन आफ्‍ना स्‍वामी, आफ्‍ना राजालाई रक्षा गर्दैनौ? अहिले भर्खरै तिम्रा मालिकलाई मार्न एउटा मानिस तिम्रो छाउनीमा पसेको थियो। अबनेर, तिमीले आफ्‍नो कर्तव्‍य गर्न बिरायौ। जीवित परमप्रभुलाई साक्षी राखी म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुको अभिषिक्त जनको रक्षा गरेनौ। जसलाई परमप्रभुले राजा बनाउनुभएको हो। हेर त! राजाको भाला कहाँ छ? उनको सिरानी छेउको पानीको सुराही खोइ?” दाऊदको सोर चिनेर शाऊलले भने, “दाऊद, के तँ नै होस्, मेरो छोरो?” “हो राजन्!” दाऊदले उत्तर दिए, “हजुरले किन अझै मेरो खेदो गर्नुहुन्‍छ? म तपाईंको सेवक हुँ। मैले के बिगारेको छु? मैले के अपराध गरें? राजन्! मेरो कुरा सुन्‍नुहोस्। यदि परमप्रभुले तपाईंलाई मेरो विरुद्धमा पार्नुभएको हो भने उहाँलाई एउटा भेटी चढाउँदा उहाँको मन परिवर्तन हुनेछ। तर मानिसहरूले त्‍यसो गरेका हुन् भने परमप्रभुको सराप तिनीहरूमाथि परोस्। तिनीहरूले मलाई परमप्रभुको देशदेखि धपाएर अर्को देशमा पठाएका छन्, जहाँ म केवल अरू देवी-देवताहरूलाई पुज्‍न सक्‍छु। परमप्रभुदेखि टाढा विदेशी भूमिमा मलाई मारिन नदिनुहोस्। इस्राएलका राजाले किन मजस्‍तो भुसुनालाई मार्न आउनुपर्‍यो? किन उनले मलाई वनको चरोलाई झैँ मार्नुपर्छ?” शाऊलले जवाफ दिए, “मैले भुल गरें। दाऊद, मेरो छोरो फर्केर आइज। म फेरि कहिल्‍यै तेरो हानि गर्नेछैनँ किनभने आज राती तैँले मेरो प्राण कुशल छोडिदिइस्। म मूर्ख बनेको छु! मैले डरलाग्‍दो काम गरेको छु।” दाऊदले उत्तर दिए, “तपाईंको भाला यहाँ छ, राजन्! तपाईंको एक जना मानिस आएर त्‍यो लिएर जाओस्। विश्‍वासयोग्‍य र धर्मी मानिसहरूलाई परमप्रभुले इनाम दिनुहुनेछ। आज उहाँले तपाईंलाई मेरा हातमा पारिदिनुभएको थियो; तर मैले तपाईंको केही नोक्‍सान गरिनँ। तपाईंलाई परमप्रभुले राजा बनाउनुभएको हो। मैले जसरी आज तपाईंको प्राण कुशल छोडिदिएँ, परमप्रभुले मसित त्‍यसै गरून् र मेरा दु:ख-कष्‍टबाट मलाई छुटकारा देऊन्!” शाऊलले दाऊदलाई भने, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्! तैँले गरेको हरेक काममा तँ सफल रहनेछस्!” तब दाऊद आफ्‍नो बाटो लागे र शाऊल घर फर्के।

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्