YouVersion लोगो
खोज आइकन

१ शमूएल 19:18-24

१ शमूएल 19:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊद रामामा शमूएलकहाँ भागेर आए, र शाऊलले तिनीप्रति गरेका सबै व्‍यवहारको विषयमा शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल गएर नैयोतमा बस्‍न लागे। “दाऊद रामाको नैयोतमा छन्‌” भनी कसैले शाऊललाई सुनाइदियो। दाऊदलाई पक्रन भनी शाऊलले एक दल मानिस पठाए। जब तिनीहरूले शमूएलको नेतृत्‍वमा अगमवक्ताहरूको दल जोशमा मग्‍न भएको देखे, तब तिनीहरूमाथि परमेश्‍वरका आत्‍मा आउनुभयो, र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्‍न भए। जब यो कुरा शाऊलले सुने तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्‍न भए। शाऊलले तेस्रो पल्‍ट मानिसहरूलाई पठाए, र तिनीहरूले पनि त्‍यसै गरे। तब शाऊल आफै रामामा गए, र सेकूमा भएको ठूलो कूवामा आइपुगे। उनले “शमूएल र दाऊद कहाँ छन्‌” भनी सोधखोज गरे। तब “तिनीहरू त रामाको नैयोतमा छन्‌” भनी तिनीहरूले भने। उनी त्‍यहाँको बाटोमा जाँदाजाँदै परमप्रभुका आत्‍मा उनीमाथि पनि आउनुभयो, र रामाको नैयोतसम्‍मै उनी जोशमा मग्‍न भएर पुगे। त्‍यहाँ उनले आफ्‍ना वस्‍त्र उतारे, र शमूएलको सामु जोशले मग्‍न भएर त्‍यस दिनभरि र रातभरि पनि नाङ्गै बसे। त्‍यसैकारण मानिसहरू भन्‍छन्, “के शाऊल पनि अगमवक्ताकै दलमा छन्‌?”

शेयर गर्नुहोस्
१ शमूएल 19 पढ्नुहोस्

१ शमूएल 19:18-24 पवित्र बाइबल (NERV)

दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले। शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्। शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले। शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे। अन्त्यमा, शाऊल आफैं रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे। मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।” त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले। त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे। यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”

शेयर गर्नुहोस्
१ शमूएल 19 पढ्नुहोस्

१ शमूएल 19:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊद भागेर रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा सुनाए। त्‍यसपछि उनी र शमूएल नैयोतमा गएर बसे। दाऊद रामाको नैयोतमा छन् भनी शाऊललाई कसैले सुनायो। दाऊदलाई पक्रन शाऊलले केही मानिसहरू त्‍यहाँ पठाए। तिनीहरूले एक दल अगमवक्ताहरू आफ्‍ना अगुवा शमूएलसँग अगमवाणी बोल्‍दैगरेका देखे। तब शाऊलका मानिसहरूलाई परमेश्‍वरको आत्‍माले अधीन गर्नुभयो र तिनीहरूले पनि अगमवाणी बोल्‍न लागे। शाऊलले जब यो कुरा सुने, अरू मानिसहरूलाई त्‍यहाँ पठाए र तिनीहरूले पनि अगमवाणी बोल्‍न थाले। तेस्रोपल्‍ट तिनीहरूले अरू मानिसहरूलाई पठाए, तिनीहरूले पनि अगमवाणी बोल्‍न थाले। तब तिनी आफैं रामामा गए। सेकूमा भएको ठूलो कुवामा आइपुग्‍दा तिनले शमूएल र दाऊद कहाँ छन् भनी सोधे। तिनीहरू नैयोतमा छन् भनी तिनलाई भनियो। उनी त्‍यहीँ जान लाग्‍दा परमेश्‍वरको आत्‍मा उनीमाथि पनि आउनुभयो र उनी पनि नैयोतसम्‍मै अगमवाणी बोल्‍दै गए। उनले आफ्‍ना वस्‍त्र फुकाले र शमूएलको सामुन्‍ने अगमवाणी बोल्‍दै त्‍यो दिन र रातभरि नाङ्गै बसे। (त्‍यसरी यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?”)

शेयर गर्नुहोस्
१ शमूएल 19 पढ्नुहोस्