१ शमूएल 16:6-14
१ शमूएल 16:6-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्।” तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।” तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्ने हिँड्न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” तब यिशैले शम्मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नुभएको छैन।” तब शमूएलले सोधे, “के सबै यति नै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्यसलाई बोलाऊ। ऊ नआउञ्जेल हामी बस्नेछैनौं।” यसकारण यिशैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, “उठेर त्यसलाई अभिषेक गर्। व्यक्ति यही हो।” शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि शमूएल रामाको बाटो लागे। परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो।
१ शमूएल 16:6-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।” तर याहवेहले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।” तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्नुभएको छैन।” तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्नुभएको छैन।” यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्नुभएको छैन।” यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्नेछैनौँ।” यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।” यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए। अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो।
१ शमूएल 16:6-14 पवित्र बाइबल (NERV)
जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।” तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न जो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।” त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।” त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।” यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।” शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?” यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।” शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।” यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो। परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।” शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के। परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो।
१ शमूएल 16:6-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब तिनीहरू आइपुगे, शमूएलले यिशैको छोरो एलीआबलाई देखेर मनमा भने, “परमप्रभुको सामुन्ने त्यहाँ खडा रहने त्यो मानिसलाई अवश्य नै उहाँले चुन्नुभएको छ।” तर परमप्रभुले उनलाई भन्नुभयो, “त्यो कति अग्लो र सुन्दर छ भनी ध्यान नदे। मैले त्यसलाई इन्कार गरेको छु किनभने म मानिसले जस्तै विचार गर्दिनँ। मानिसले बाहिरी अनुहारलाई हेर्छ, म भित्री हृदयलाई हेर्छु।” तब यिशैले आफ्नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन।” तब यिशैले शम्मालाई ल्याए। “यसलाई पनि परमप्रभुले चुन्नुभएको छैन,” शमूएलले भने। यस प्रकारले यिशैले आफ्ना सात छोराहरू शमूएलकहाँ ल्याए र शमूएलले तिनलाई भने, “अँहँ, परमप्रभुले यीमध्ये कसैलाई पनि चुन्नुभएको छैन।” अन्त्यमा तिनले यिशैलाई सोधे, “तिम्रा अरू कोही छोरा छन्?” यिशैले उत्तर दिए, “अझै कान्छोचाहिँ छ; तर त्यो भेडा चराउन गएको छ।” शमूएलले भने, “त्यसलाई यहाँ बोलाओ। त्यो नआएसम्म हामी बलिदान चढाउनेछैनौं।” यसर्थ यिशैले तिनलाई बोलाउन पठाए। तिनी एक सुन्दर र स्वस्थ केटा थिए र तिनका आँखा चम्किला उज्ज्वल थिए। परमप्रभुले शमूएललाई भन्नुभयो, “व्यक्ति यही हो, त्यसलाई अभिषेक गर्!” शमूएलले जैतुनको तेल लिएर दाऊदलाई तिनका दाजुहरूका सामुन्नेमा अभिषेक गरे। तुरुन्तै परमप्रभुको आत्माले दाऊदलाई आफ्ना अधीनमा लिनुभयो र त्यस दिनदेखि रामामा फर्के। परमप्रभुको आत्माले शाऊललाई त्याग्नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तिनलाई सताउँथ्यो।