१ शमूएल 16:1-23
१ शमूएल 16:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्यसका छोराहरूमध्येको एक जनालाई राजा चुनेको छु।” तर शमूएलले भने, “म कसरी जान सक्छु र? शाऊलले यो कुरा सुनेर मलाई मार्नेछन्।” परमप्रभुले भन्नुभयो, “एउटा कोरली तँसँग लैजा। ‘परमप्रभुको निम्ति बलिदान चढ़ाउनलाई आएको हुँ’ भन्। यिशैलाई पनि त्यस बलिदानमा निम्तो दे, र तैंले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैंले त्यसलाई अभिषेक गर्नू।” तिनलाई परमप्रभुले गर्नू भन्नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्तिसाथ आउनुभयो?” शमूएलले भने, “शान्तिसाथ। म परमप्रभुको निम्ति बलिदान चढ़ाउनलाई आएको हुँ। तिमीहरू आफू-आफूलाई शुद्ध गरेर बलिदानको निम्ति आओ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्ति तिनीहरूलाई बोलाए। जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्।” तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।” तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्ने हिँड्न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” तब यिशैले शम्मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्नुभएको होइन।” यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नुभएको छैन।” तब शमूएलले सोधे, “के सबै यति नै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्यसलाई बोलाऊ। ऊ नआउञ्जेल हामी बस्नेछैनौं।” यसकारण यिशैले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, “उठेर त्यसलाई अभिषेक गर्। व्यक्ति यही हो।” शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि शमूएल रामाको बाटो लागे। परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले तपाईंलाई पक्रन्छ। हजूरका सामुन्ने भएका सेवकहरूलाई गएर वीणा बजाउन सक्ने कुनै मानिसलाई खोजेर ल्याउने हुकुम दिनुहोस् अनि जब परमप्रभुबाट त्यो हानिकारक आत्मा हजूरकहाँ आउँछ, त्यस बेला त्यस मानिसले बजाउँछ र हजूर निको हुनुहुनेछ।” यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग बीणा बजाउने कुनै एक जना मानिसलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।” उनका सेवकहरूमध्ये एक जनाले भन्यो, “बेथलेहेमका यिशैका छोराहरूमध्ये एक जनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन्, र असल योद्धा, बोल्नमा ज्ञानी, र सुन्दर पनि छन्। अनि परमप्रभु तिनीसँग हुनुहुन्छ।” यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, र भेड़ा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे। यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए। दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्ने भए। यसैले शाऊलले यिशैकहाँ यो समाचार पठाए, “दाऊद मेरो सेवामा नै रहोस्, किनभने म त्यससित प्रसन्न छु।” जब-जब परमप्रभुबाट त्यो आत्मा शाऊलमा आउँथ्यो, दाऊदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे, र शाऊलले शान्ति पाउँथे। उनी निको हुन्थे, र त्यस हानिकारक आत्माले उनलाई छोड़ेर गइहाल्थ्यो।
१ शमूएल 16:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले शमूएललाई भन्नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।” तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” याहवेहले भन्नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’ यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।” याहवेहले भन्नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?” शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए। जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।” तर याहवेहले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।” तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्नुभएको छैन।” तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्नुभएको छैन।” यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्नुभएको छैन।” यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्नेछैनौँ।” यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।” यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए। अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो। शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्नुहोस्, परमेश्वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ। हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।” यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।” तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।” तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।” यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए। दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए। तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्न छु।” जब-जब परमेश्वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो।
१ शमूएल 16:1-23 पवित्र बाइबल (NERV)
परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छस्? शाऊललाई मैले इस्राएलको राजपदबाट हटाइसकें तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।” शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।” परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’ यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।” शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?” शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए। जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।” तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न जो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।” त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।” त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।” यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।” शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?” यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।” शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।” यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो। परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।” शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के। परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो। हामीलाई आदेश दिनुहोस् हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।” शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले सँगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।” एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। ऊ साह्रै वीर र युद्ध गर्न जान्दछ। ऊ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।” यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेंडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।” यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो। यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए। शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।” जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।
१ शमूएल 16:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले शमूएललाई भन्नुभयो, “तँ कति दिनसम्म शाऊलको निम्ति शोक गर्छस्? मैले त्यसलाई इस्राएलका राजा मान्न इन्कार गरेको छु। तर अब केही जैतुनको तेल लिएर बेथलेहेममा यिशै नाम गरेको मानिसकहाँ जा किनभने त्यसका छोराहरूमध्ये एक जनालाई मैले राजा चुनेको छु।” “म कसरी त्यसो गर्न सक्छु र?” शमूएलले सोधे, “शाऊलले सुने मलाई मार्लान्!” परमप्रभुले जवाफ दिनुभयो, “तँसित एउटा बाछो लिएर जा र तँ त्यहाँ परमप्रभुलाई बलि चढाउन गएको हो भन्। यिशैलाई पनि त्यस बलिदानमा निम्तो दे र तैँले के गर्नुपर्छ, सो म तँलाई भन्नेछु। म जसलाई भन्छु, त्यसलाई तैँले राजा अभिषेक गर्नू।” परमप्रभुले उनलाई भन्नुभएअनुसार शमूएलले गरे र बेथलहेममा गए। त्यहाँ नगरका अगुवाहरू काँम्दै तिनलाई भेट्न आए र भने, “स्वप्नदर्शी, के यो शान्तिको भेटघाट हो?” “हो!” उनले उत्तर दिए, “म परमप्रभुलाई बलि चढाउनलाई आएको हुँ। तिमीहरूले आफैंलाई शुद्ध गरेर मेरो साथमा आओ।” उनले यिशै र तिनका छोराहरूलाई पनि शुद्ध होओ भने र तिनीहरूलाई बलिदानमा आउने निम्तो दिए। जब तिनीहरू आइपुगे, शमूएलले यिशैको छोरो एलीआबलाई देखेर मनमा भने, “परमप्रभुको सामुन्ने त्यहाँ खडा रहने त्यो मानिसलाई अवश्य नै उहाँले चुन्नुभएको छ।” तर परमप्रभुले उनलाई भन्नुभयो, “त्यो कति अग्लो र सुन्दर छ भनी ध्यान नदे। मैले त्यसलाई इन्कार गरेको छु किनभने म मानिसले जस्तै विचार गर्दिनँ। मानिसले बाहिरी अनुहारलाई हेर्छ, म भित्री हृदयलाई हेर्छु।” तब यिशैले आफ्नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन।” तब यिशैले शम्मालाई ल्याए। “यसलाई पनि परमप्रभुले चुन्नुभएको छैन,” शमूएलले भने। यस प्रकारले यिशैले आफ्ना सात छोराहरू शमूएलकहाँ ल्याए र शमूएलले तिनलाई भने, “अँहँ, परमप्रभुले यीमध्ये कसैलाई पनि चुन्नुभएको छैन।” अन्त्यमा तिनले यिशैलाई सोधे, “तिम्रा अरू कोही छोरा छन्?” यिशैले उत्तर दिए, “अझै कान्छोचाहिँ छ; तर त्यो भेडा चराउन गएको छ।” शमूएलले भने, “त्यसलाई यहाँ बोलाओ। त्यो नआएसम्म हामी बलिदान चढाउनेछैनौं।” यसर्थ यिशैले तिनलाई बोलाउन पठाए। तिनी एक सुन्दर र स्वस्थ केटा थिए र तिनका आँखा चम्किला उज्ज्वल थिए। परमप्रभुले शमूएललाई भन्नुभयो, “व्यक्ति यही हो, त्यसलाई अभिषेक गर्!” शमूएलले जैतुनको तेल लिएर दाऊदलाई तिनका दाजुहरूका सामुन्नेमा अभिषेक गरे। तुरुन्तै परमप्रभुको आत्माले दाऊदलाई आफ्ना अधीनमा लिनुभयो र त्यस दिनदेखि रामामा फर्के। परमप्रभुको आत्माले शाऊललाई त्याग्नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तिनलाई सताउँथ्यो। तिनका नोकर-चाकरहरूले तिनलाई भने, “हामी जान्दछौं कि परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तपाईंलाई कष्ट दिन्छ। यसकारण, हजुर, हामीलाई आज्ञा गर्नुहोस् र हामी एक जना वीणा बजाउन जान्ने मानिसलाई खोज्दछौं। तब दुष्ट आत्मा तपाईंकहाँ आउँदा त्यस मानिसले वीणा बजाउन सक्छ र तपाईं फेरि निको भइहाल्नुहुनेछ।” शाऊलले तिनीहरूलाई आज्ञा गरे, “राम्रो बजाउन सक्ने कुनै एक जना मानिस खोज र मकहाँ ल्याओ।” एक जना सेवकले भन्यो, “बेथलहेम नगरको यिशैको एक जना छोरा बाजा बजाउन अति राम्रो छ। तिनी साहसी र हेर्नमा सुन्दर, असल सैनिकजस्ता र बोल्नमा सिपालु छन्। परमप्रभु तिनीसित हुनुहुन्छ।” यसकारण शाऊलले यिशैकहाँ मानिसहरूका हातमा यस्तो समाचार दिएर पठाए, “मकहाँ तिम्रो भेडा चराउने छोरो दाऊदलाई पठाऊ।” यिशैले दाऊदलाई एउटा पाठो, रोटीको भारी लादेको एउटा गधा र एक मशक दाखमद्यसाथ शाऊलकहाँ पठाए। दाऊद शाऊलकहाँ गए र तिनको सेवा गर्न लागे। तिनलाई शाऊलले औधी रुचाए, मन पराए र आफ्ना हातहतियार बोक्ने कामको निम्ति चुने। तब शाऊलले यिशैलाई एउटा यस्तो खबर पठाए, “मलाई दाऊद मन पर्यो। म दाऊदसित खुसी छु। त्यसले यहाँ बसेर मेरो सेवा गरोस्।” त्यस दिनदेखि जब परमेश्वरले पठाउनुभएको दुष्टात्मा शाऊलमा पस्थ्यो, तब दाऊदले आफ्नो वीणा ल्याएर बजाउँथे र शाऊललाई आराम हुन्थ्यो।