१ शमूएल 14:47-52
१ शमूएल 14:47-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब शाऊलले इस्राएलमा आफ्नो सिंहासन स्थिर पारिसके, तब उनले मोआबीहरू, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरू आफ्ना चारैतिरका शत्रुहरूसित लड़ाइँ गरे। जहाँ-जहाँ उनी गए, त्यहाँ-त्यहाँ उनले उनीहरूलाई सास्ती दिए। अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए। शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्छीको नाउँ मीकल थियो। उनकी पत्नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए। शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहिँ अबीएलका छोराहरू थिए। शाऊलको जीवनपर्यन्त पलिश्तीहरूसित घमासान भइरह्यो। उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्नो काममा नियुक्त गरिहाल्थे।
१ शमूएल 14:47-52 पवित्र बाइबल (NERV)
शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसँग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए। शाऊल अत्यन्तै साहसी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए। शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो। शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्। शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए। शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए। शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।
१ शमूएल 14:47-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शाऊल इस्राएलका राजा भएपछि उनले आफ्ना सबै शत्रुहरूसित सबै ठाउँमा लडाइँ गरे। उनले मोआब, अम्मोन, एदोमका मानिसहरू, सोबाका राजा र पलिश्तीहरूसित लडाइँ गरे। जहाँजहाँ लडाइँ गरे, त्यहाँत्यहाँ तिनले जिते। उनले वीरतासाथ लडाइँ गरे र अमालेकीहरूलाई पनि हराए। उनले इस्राएलीहरूलाई सबै हमलाबाट बचाए। शाऊलका छोराहरू जोनाथन, यिश्वी, मल्कीशूअ थिए। तिनका जेठी छोरी मेराब र कान्छी छोरी मीकल थिए। उनकी रानी अहीमासकी छोरी अहीनोम थिइन्। उनका काका नेरका छोरा अबनेर सेनापति थिए। शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए। शाऊलले आफ्नो जीवनकालभरि पलिश्तीहरूसित लडाइँ गर्नुपर्यो। यसकारण जहिले-जहिले कोही बलियो वा साहसी पुरुष भेट्थे, त्यही बेला उनले त्यसलाई आफ्ना सेनामा भर्ती गर्थे।