१ शमूएल 14:24-30
१ शमूएल 14:24-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस दिन इस्राएलीहरू साह्रै थाकेका थिए, किनकि शाऊलले मानिसहरूलाई यी शब्दहरूद्वारा शपथ खान लाएका थिए: “मैले मेरा शत्रुहरूलाई बदला लिई नसकुञ्जेल जसले साँझअघि केही खानेकुरो खाला त्यो मानिस श्रापित होस्।” यसैले कसैले पनि केही खाएन। जम्मै मानिसहरू वनमा पुगे र त्यहाँ भूइँमा मह भेटाए। तर मानिसहरूले त्यहाँ मह चाकाबाट चुहिरहेको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदैछोएन। तर आफ्ना पिताले मानिसहरूलाई शपथ खान लाएर एकदम मनाही गरेका जोनाथनले सुनेकै थिएनन्। तिनले आफ्नो हातमा भएको लट्ठी पसारेर त्यसको टुप्पाले चाकामा घोचे। तिनले आफ्नो मुखमा हात उठाए, र तिनमा स्फूर्ति आयो। तर मानिसहरूमध्येको एक जनाले तिनलाई भन्यो, “तपाईंका पिताले यसो गर्नलाई एकदम मनाही गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘आजको दिन खानेकुरो खाने मान्छे श्रापित होस्।’ यसैले मानिसहरूचाहिँ भोकले छटपटिसकेका छन्।” जोनाथनले भने, “मेरा पिताले देशको लागि हानि गर्नुभएको छ। हेर त, म यो मह चाखेर मात्र पनि कस्तो फूर्तिलो भएको छु। शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन् कति राम्रो हुनेथियो। अवश्य पलिश्तीहरूको पनि झन् ठूलो संहार हुनेथियो।”
१ शमूएल 14:24-30 पवित्र बाइबल (NERV)
त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरून्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्। युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए। तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरजस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे। एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।” जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ। आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”
१ शमूएल 14:24-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो दिन इस्राएलीहरू भोकले कमजोर भएका थिए किनभने शाऊलले एउटा गम्भीर किरिया खाएर यस्तो हुकुम दिएका थिए, “जसले आज मैले आफ्ना शत्रुहरूसित बदला लिनुअघि खाना खानेछ, त्यसलाई मेरो सराप छ।” यसकारण दिनभरि कसैले केही खाएका थिएनन्। तिनीहरू सबै जना एउटा जङ्गल भएको इलाकामा आइपुगे र त्यहाँ जताततै मह भेट्टाए। जङ्गल महले भरिएको थियो तर शाऊलको सरापसित डराएर कसैले मह खाएनन्। तर आफ्ना बुबाले सराप दिएर प्रजालाई डर देखाएका कुरा जोनाथनले सुनेका थिएनन् र तिनले आफूले बोकेको लौरो चाकामा पुर्याएर महमा डुबाए र केही मह खाए। तुरुन्तै तिनलाई शरीरमा बल आएको थाहा भयो। तर एक जना मानिसले भन्यो, “हामी सबै भोकले कमजोर भएका छौं; तर तपाईंका बुबाले हामीलाई डर देखाएर यसो भन्नुभयो, ‘जसले आज खाना खान्छ, त्यसलाई मेरो सराप लाग्छ।” जोनाथनले उत्तर दिए, “मेरो बुबाले हाम्रो प्रजामाथि कस्तो डरलाग्दो कुरा गर्न सक्छन्! हेर त, मह खाएर अहिले मलाई कति राम्रो लागिरहेछ! शत्रुहरूको हार हुँदा हाम्रा मानिसहरूले फेला परेका खाना खाएका भए कति असल हुनेथियो। तिनीहरूले अझ कति धेरै पलिश्तीहरूलाई मार्नेथिए अनि सो विचार गर त!”