YouVersion लोगो
खोज आइकन

१ शमूएल 12:1-5

१ शमूएल 12:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब शमूएलले भेला भएका इस्राएलीहरूलाई यसो भने, “मैले तिमीहरूले भनेका सबै कुरा सुनें, र तिमीहरूमाथि राज्‍य गर्नलाई राजा नियुक्त गरें। अब यिनै राजा तिमीहरूका अगुवा भएका छन्‌। मचाहिँ वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्‌। म त मेरो बालककालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु। म यहीँ छु। मेरो विरुद्धमा तिमीहरूको केही भन्‍नु छ भने यहाँ परमप्रभु र उहाँका अभिषिक्त जनको उपस्‍थितिमा उजूर गर। कसको गोरु मैले लिएको छु? कसको गधा मैले लिएको छु? मैले कसलाई ठगेको छु? मैले कसमाथि अत्‍याचार गरें? मैले कसको कसूर लुकाउनलाई घूस लिएँ? मलाई भन, र म त्‍यसको क्षतिपूर्ति गरिदिनेछु।” तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्‍नुभएको छैन। तपाईंले हामीमाथि केही अत्‍याचार गर्नुभएको छैन। तपाईंले कुनै मानिसबाट केही लिनुभएको छैन।” तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्‍छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्‌।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्

१ शमूएल 12:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु। अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु। म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।” अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।” तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने।

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्

१ शमूएल 12:1-5 पवित्र बाइबल (NERV)

शमूएलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरें। अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।” सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।” शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्

१ शमूएल 12:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब शमूएलले इस्राएलका प्रजालाई भने, “तिमीहरूले मलाई मागेजस्‍तै मैले गरें। मैले तिमीहरूमाथि शासन गर्न एउटा राजा दिएको छु र तिमीहरूको अगुवाइ गर्न तिनी तिमीहरूसित छन्। म बुढो भएँ र मेरो केश पाकिसक्यो। मेरा छोराहरू तिमीहरूसित छन्। म युवादेखि आजसम्‍म तिम्रा अगुवा रहेको छु। म उही हुँ। मैले केही भुल गरेको छु भने अहिले परमप्रभु र उहाँले चुन्‍नुभएको राजाको सामुन्‍ने मलाई दोष लगाओ। के मैले कसैको गाई वा गधा लगें? के मैले कसैलाई ठगेको वा सताएको छु? के मैले कोहीदेखि घूस लिएको छु? यदि मैले कुनै यस्‍तो काम गरेको छु भने मैले जे लिएको छु, त्‍यो म फिर्ता दिनेछु।” मानिसहरूले उत्तर दिए, “अँहँ, तपाईंले हामीलाई ठग्‍नु वा सताउनुभएको छैन, तपाईंले हामीबाट केही लैजानु भएको छैन।” शमूएलले उत्तर दिए, “तिमीहरूले मलाई पूर्णरूपले निर्दोष पाएका छौ भनी परमप्रभु र उहाँले चुन्‍नुभएको राजा आज साक्षी हुनुहुन्‍छ।” “हो, परमप्रभु हाम्रा साक्षी हुनुहुन्‍छ।” तिनीहरूले जवाफ दिए।

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्