१ राजाहरू 19:3-18
१ राजाहरू 19:3-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एलिया डराए, र आफ्नो प्राण बचाउनलाई भागे। जब तिनी यहूदाको बेर्शेबामा पुगे, तब तिनले आफ्नो चाकरलाई त्यहीँ छाड़े, र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्यसमुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्दा असल छैनँ!” तब तिनी त्यही झाड़ीमुनि ढल्के र भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले यताउता हेरे, र आफ्नो टाउकोनेर ताता भुङ्ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्के। परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।” यसैले तिनी उठेर खानपान गरे। त्यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्वरको पर्वत होरेबमा पुगे। तिनी त्यहाँ एउटा ओड़ारभित्र पसे र त्यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्?” तिनले भने, “सर्वशक्तिमान् परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्यागेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्।” परमप्रभुले भन्नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खड़ा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्नथ्यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्नथ्यो। भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो। जब एलियाले त्यो सुने तब तिनले आफ्नो खास्टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, “एलिया, तँ यहाँ के गर्दैछस्?” तिनले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्।” परमप्रभुले तिनलाई भन्नुभयो, “तँ जुन बाटो आएको छस्, त्यही बाटो फर्किगएर दमस्कसको मरुभूमिमा जा। जब तँ त्यहाँ पुग्छस् तब हजाएललाई अरामको राजा अभिषेक गर्। तब निम्शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्। हजाएलको तरवारबाट उम्कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्छु— ती सबै जसले बालको सामुन्ने आफ्ना घुँड़ा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्।”
१ राजाहरू 19:3-18 पवित्र बाइबल (NERV)
जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोडे। त्यसपछि एलिया दिनभरि नै मरुभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।” तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!” एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते! त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ।” यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुन्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए। त्यहाँ एलिया एउटा ओढारमा गए अनि रातभरि बसे। तब परमप्रभु एलियासँग बोल्नु भयो। परमप्रभुले भन्नुभयो, “एलिया, तिमी किन यहाँ छौ?” एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैँ मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।” तब परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ अनि पर्वत माथि मेरा सामु खडा होउ। म तिम्रो छैवैबाट जानेछु।” तब प्रचण्ड हुरी चल्यो। हुरीले पर्वतहरूलाई भत्कायो। परमप्रभुको अघि ठूल्ठूला चट्टानहरू फोर्यो। तर त्यो हुरीमा परमप्रभु हुनुहुन्न थियो। त्यस हुरी पछि एउटा भूईंचालो शुरू भयो तर त्यो भूईंचालोमा पनि परमप्रभु हुनुहुन्न थियो। भूईंचालो पछि आगो दन्कियो। तर त्यो आगोमा पनि परमप्रभु हुनुहुन्न थियो। आगो पछि त्यहाँ मधुरो कानेखुसी आए। जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?” एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैँ तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।” परमप्रभुले भन्नुभयो, “दमीशकको वरिपरि मरुभूमिसम्म जाने बाटो भएर फर्क। दमीशक जाऊ अनि अरामका राजाको रूपमा हजाएललाई अभिषेक गर। तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्। हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्। म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्बन गरेको छैनन्।”
१ राजाहरू 19:3-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एलिया डराए र प्राण जोगाउन भागे। आफ्नो चाकरसँग उनी यहूदाको बेर्शेबामा गए। चाकरलाई त्यहीं छोडिराखेर एलिया दिनभरि हिंडेर उजाड-स्थानभित्र गए। त्यहाँ पुगी उनी अडिए, एउटा रूखको छायामुनि बसे र म मरे पनि हुन्थ्यो भनी सोच्न लागे। “अति भो, परमप्रभु, मेरो प्राण लिनुहोस्, म मर्नु नै असल हुन्छ,” उनले प्रार्थना गरे!” त्यही रूखमुनि उनी ढल्के र निदाए। अचानक एउटा स्वर्गदूतले उनलाई छोएर भने, “उठ र खाऊ।” उनले चारैपट्टि हेरे र आफ्नो शिरनिर एउटा रोटी र एक सुराही पानी देखे। उनले खाए, पिए र फेरि सुते। परमप्रभुको दूत फेरि फर्किआए र दोस्रो पल्ट उनलाई यसो भन्दै उठाए, “उठेर खाऊ नत्र तिमीलाई यात्रा गर्न कठिन पर्नेछ।” एलिया उठे, खाए, पिए र त्यस भोजनले उनलाई पवित्र पर्वत सीनैसम्म पुग्ने र त्यसको लागि चालीस दिन र चालीस रात हिंड्ने बल दियो। त्यहाँ उनी एउटा ओडारभित्र पसे र त्यहीँ रात बिताए। अचानक परमप्रभुले उनलाई भन्नुभयो, “एलिया, तँ यहाँ के गर्दै छस्?” उनले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमान् परमेश्वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु र तिनीहरू मलाई मार्ने कोसिसमा छन्।” “बाहिर गएर पर्वतको टुप्पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्नुभयो। तब परमप्रभु त्यहाँबाट भएर जानुभयो र एउटा प्रचण्ड बतास पठाउनुभयो। त्यसले डाँडाहरू चिर्यो र चट्टानहरू टुक्रा-टुक्रा पार्यो, तर बतासमा परमप्रभु हुनुहुन्नथ्यो। बतास थामियो र त्यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्नथ्यो। भूइँचालोपछि आगो आयो तर परमप्रभु आगोमा हुनुहुन्नथ्यो। आगोपछि एउटा सानो मधुर आवाज आयो। त्यो सुनेर एलियाले आफ्नो खास्टोले मुख छोपे र बाहिर निस्केर ओडारको ढोकामा उभिए। उनले एउटा आवाज सुने, “एलिया, तँ यहाँ के गर्दै छस्?” उनले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु! तर तिनीहरू मलाई पनि मार्ने कोसिसमा छन्।” परमप्रभुले भन्नुभयो, “दमस्कस छेउको उजाड-स्थानमा जा, त्यसपछि सहरभित्र पस् र हजाएललाई अरामका राजा अभिषेक गर्। निम्शीको छोरो येहूलाई इस्राएलका राजा र हाबिल महोलाको शाफातको छोरो एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्। हजाएलका हातबाट नमरी उम्कनेलाई येहूले मार्नेछ र येहूका हातबाट उम्कनेलाई एलीशाले मार्नेछ। तापनि सात हजारलाई म इस्राएलमा बचाइराख्छु, ती सबै, जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्।”