YouVersion लोगो
खोज आइकन

१ राजाहरू 11:29-39

१ राजाहरू 11:29-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसै बेला यारोबाम यरूशलेमबाट बाहिर गइरहेका थिए, र बेलामा शीलोका अगमवक्ता अहियाहले तिनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्‍टो ओढ़ेका थिए। बाटोमा तिनी दुई मात्र थिए। आफूले ओढ़ेको नयाँ खास्‍टो फुकालेर अहियाहले त्‍यो च्‍यातेर बाह्र टुक्रा पारे। तब उनले यारोबामलाई भने, “यसबाट दश टुक्रा तिम्रो निम्‍ति लेऊ, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर, म सोलोमनको हातबाट राज्‍य खोस्‍नेछु, र तँलाई दश कुल दिनेछु। तर मेरो दास दाऊदको खातिर र इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर एउटा कुलचाहिँ त्‍यसको हुनेछ। म यो गर्नेछु, किनभने तिनीहरूले मलाई त्‍यागेका छन्, र सीदोनीहरूकी अश्‍तोरेत देवी, मोआबको देवता कमोश र अम्‍मोनीहरूको देवता मोलोखलाई पुजेका छन्, र मेरा मार्गमा तिनीहरू हिँड़ेका छैनन्‌ न त मेरो दृष्‍टिमा जे ठीक छ त्‍यो गरेका छन्, न सोलोमनको पिता दाऊदले गरेझैँ मेरा धार्मिक विधिविधानहरू मानेका छन्‌। “‘तर सोलोमनको हातबाट म जम्‍मै राज्‍य त लिनेछैनँ। मेरा आज्ञाहरू र धार्मिक-विधानहरू पालन गर्ने मैले चुनेको दास दाऊदको खातिर सोलोमन बाँचुञ्‍जेल त्‍यसलाई शासक बनाएको छु। त्‍यसको छोराको हातबाट लिएर दश कुलको राज्‍यचाहिँ तँलाई दिनेछु। मेरो नाउँ राख्‍नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्‍ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस्‌ भनेर एउटा कुलचाहिँ म त्‍यसको छोरालाई दिनेछु। तैपनि तँलाई चाहिँ म लिनेछु, र तेरो हृदयले इच्‍छा गरेका सबैमाथि तैंले शासन गर्नेछस्‌। तँ इस्राएलको राजा हुनेछस्‌। यदि मेरो दास दाऊदले गरेझैँ तैंले मेरा सबै आज्ञाहरू गरिस्‌ र मेरा मार्गमा हिँड़िस्‌ र मेरा धार्मिक-विधान र आज्ञाहरू पालन गरेर मेरो दृष्‍टिमा जे ठीक छ त्‍यो गरिस्‌ भने, म तँसित हुनेछु। दाऊदको निम्‍ति निर्माण गरेझैँ म तेरो वंशलाई स्‍थायी बनाउनेछु, र इस्राएलचाहिँ म तँलाई दिनेछु। यसैको कारण म दाऊदका सन्‍तानहरूलाई विनम्र तुल्‍याउनेछु, तर सधैँसम्‍म त होइन’।”

शेयर गर्नुहोस्
१ राजाहरू 11 पढ्नुहोस्

१ राजाहरू 11:29-39 पवित्र बाइबल (NERV)

एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए। अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे। तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु। अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ। म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुशरण गर्न छोडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँच्चो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिँडेन जसरी उसका पिता दाऊद हिंडेका थिए। यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे। तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु। म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यसकारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोअघि सधैँ रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ। तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ। यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सुम्पनेछु। म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।’”

शेयर गर्नुहोस्
१ राजाहरू 11 पढ्नुहोस्

१ राजाहरू 11:29-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक दिन यारोबाम यरूशलेमबाट गइरहेका बेलामा शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले आफूले ओढेको नयाँ खास्‍टो खोले र त्‍यसलाई बाह्र टुक्रा गरेर च्‍याते र यारोबामलाई भने, “दश टुक्रा तिमी लेऊ किनभने परमप्रभु इस्राएलका परमेश्‍वर तिमीलाई यसो भन्‍नुहुन्‍छ, ‘म सोलोमनका हातबाट देश लिनेछु र दश कुलहरू तँलाई दिनेछु। मेरो सेवक दाऊदको र मैले सारा इस्राएल देशबाट आफ्‍नो निम्‍ति चुनेको यरूशलेमको खातिर सोलोमनका हातमा एक कुल छोडिदिनेछु। सोलोमनले मलाई अस्‍वीकार गरेर पराई देवताहरू, सीदोनी देवी अश्‍तोरेत, मोआबी देवता कमोश र अम्‍मोनी देवता मोलेखलाई पुजेका हुनाले म यसो गर्दै छु। सोलोमनले मेरो आज्ञा मानेन, दुष्‍कर्म गर्‍यो र त्‍यसका पिताले झैँ मेरा नियम र आज्ञाहरू पालन गरेन। तर म सारा राज्‍य सोलोमनका हातबाट खोस्‍नेछैनँ र त्‍यसको जीवनभरि त्‍यसको राज्‍य त्‍यसकै हातमा रहनेछ। मैले चुनेको मेरो सेवक दाऊदको खातिर र मेरा नियम र आज्ञाहरू पालन गर्नेलाई म यसो गर्नेछु। म सोलोमनको छोरोका हातबाट राज्‍य खोस्‍नेछु र तँलाई दश कुल दिनेछु तर सोलोमनको छोरोको हातमा एक कुल छोडिदिनेछु र मेरो सेवक दाऊदको एक न एक जना सन्‍तानले यरूशलेममा सधैँ राज्‍य गर्नेछ। मैले यरूशलेम सहरलाई मलाई आराधना गर्ने स्‍थल चुनेको छु। यारोबाम, म तँलाई इस्राएलका राजा बनाउनेछु र तैँले इच्‍छा गरे जति सम्‍पूर्ण राज्‍यमा तैँले शासन गर्नेछस्। तैँले मेरा आज्ञाहरू पूरा पालन गरिस्, मेरा नियमहरूबमोजिम जीवन बिताइस् र मेरा सेवक दाऊदले झैँ मेरा आज्ञापालन गरेर मलाई सन्‍तुष्‍ट पारिस् भने म सदा तँसित रहनेछु। दाऊदलाई गरेझैँ म तँलाई इस्राएलका राजा बनाउनेछु र तँपछि तेरा सन्‍तानले त्‍यहाँ राज गर्ने पक्‍का गर्नेछु। सोलोमनका पापले गर्दा म दाऊदका सन्‍तानलाई दण्‍ड दिनेछु तर सधैँभरिको निम्‍ति त्‍यसो हुनेछैन।”

शेयर गर्नुहोस्
१ राजाहरू 11 पढ्नुहोस्