१ राजाहरू 1:9-30
१ राजाहरू 1:9-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्तो दिए, तर उनले नातान अगमवक्ता, बनायाह, विशेष अङ्गरक्षकहरू र आफ्ना भाइ सोलोमनलाई निम्तो दिएनन्। तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के तपाईंले सुन्नुभएको छैन, कि हाम्रा मालिक दाऊदले थाहा नपाईकनै हग्गीतका छोरा अदोनियाह राजा भएछन्। अब सुन्नुहोस्, तपाईंको आफ्नै र तपाईंका छोरा सोलोमनको ज्यान कसरी बचाउन सकिन्छ सो म तपाईंलाई सल्लाह दिनेछु। गएर दाऊद राजासँग भेटेर उहाँलाई यसो भन्नुहोस्, ‘हे प्रभु मेरा महाराजा, के हजूरले आफ्नी दासीसँग यसो भनेर शपथ खानुभएको थिएन, “निश्चय नै तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ र त्यो नै मेरो सिंहासनमा बस्नेछ? तब किन अदोनियाह राजा भयो त?” जब तपाईं राजासँग कुरा गरिरहनुभएको हुन्छ त्यसै बेलामा म भित्र आउनेछु, र तपाईंले भन्नुभएको कुराको पुष्टि गरिदिनेछु।” तब बतशेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहारसुसार गर्दैथिई। बतशेबा निहुरेर राजाको सामु घुँड़ा टेकिन्। राजाले भने, “तिमीलाई के चाहियो?” तिनले राजालाई भनिन्, “हे मेरा प्रभु, हजूरले आफ्नी दासीसँग परमप्रभु हजूरका परमेश्वरको नाउँमा यस्तो शपथ खानुभएको थियो, ‘मपछि तिम्रो छोरो सोलोमन राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ’। तर अहिले अदोनियाह पो राजा भइसकेछ। यो कुरा प्रभु मेरा महाराजालाई थाहै छैन। त्यसले धेरै संख्यामा गाईबस्तुहरू र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएको छ, र सबै राजकुमारहरू अबियाथार पूजाहारी र सेनापति योआबलाई निम्तो दिएछ, तर हजूरको दास सोलोमनलाई चाहिँ निम्तो दिएनछ। अब हे मेरा प्रभु महाराजा, हजूरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजूरबाट जान्नलाई सारा इस्राएलले हजूरलाई हेरिरहेका छन्। नत्रता जब हजूर आफ्ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्यवहार गरिनेछ।” तिनी राजासँग कुरा गरिरहेकै बेलामा नातान अगमवक्ता आइपुगे। “नातान आएका छन्” भनी तिनीहरूले राजालाई सुनाइदिए। तब नातान आएर भूइँसम्मै निहुरेर राजालाई दण्डवत् गरे। नातानले भने, “हे मेरा प्रभु महाराजा, के अदोनियाह हजूरपछि राजा हुनेछन्, र हजूरको सिंहासनमा उनी नै बस्नेछन् भनी हजूरले घोषणा गर्नुभएको हो? उनले आज तल गएर धेरै गाई-गोरु र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएका छन्। उनले सबै राजकुमारहरू, सेनापतिहरू र अबियाथार पूजाहारीलाई भोजमा निम्तो दिएका छन्। अनि अहिले यसै बेला उनीहरू उनीसँगै खाँदै, पिउँदै र यसो भनिरहेका छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्।’ तर उनले हजूरको दास मलाई र सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह र हजूरको दास सोलोमनलाई निम्तो दिएनन्। के यो हजूरको आज्ञाद्वारा भएको हो? अनि हामी हजूरका दासहरूलाई चाहिँ हजूरपछि सिंहासनमा को बस्ने हो भनी हजूरले थाहा नै दिनुभएको छैन?” तब दाऊद राजाले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसैले तिनी राजाको सामुन्ने आएर उभिन्। तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु: परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा मैले शपथ खाएर तिमीलाई भनेको थिएँ, ‘तिम्रो छोरो सोलोमन नै मपछि राजा हुनेछ, र मेरो सिंहासनमा मेरो सट्टामा बस्नेछ’। आजको दिन म यो शपथलाई पूरा गर्नेछु।”
१ राजाहरू 1:9-30 पवित्र बाइबल (NERV)
एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेंडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए। तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्। तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्। तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन सङ्कटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु, राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’ तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।” यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई। बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?” बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’ अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्। अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेंडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन। हे मेरा मालिक अनि महाराज, अहिले इस्राएलका सबै जनगण तपाईंलाई नै हेरिरहेका छन्। तपाईं पछि अर्को राजा को हुनेछ, यस निर्णयका लागि तिनीहरू तपाईंलाई नै पर्खिरहेका छन्। तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठहरिनेछौं।” राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए। चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए। अनि भने, “हे मेरा मालिक अनि महाराज, तपाईंपछि अदोनियाह नयाँ राजा हुनेछ भनी के तपाईंले घोषणा गर्नु भयो? के तपाईंले निर्णय लिनु भएको छ, अब अदोनियाहले शासन चलाउने छ? किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेंडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’ तर उनले मलाई अथवा पूजाहारी सादोक अथवा यहोयादाको छोरा बनायाह अथवा तपाईंको आज्ञाकारी छोरा सुलेमानलाई निम्तो दिएनन्। मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?” तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्। तब राजाले शपथ गरेः “परमप्रभु परमेश्वरले मलाई प्रत्येक खतराबाट बचाउनु भएको छ। जसरी परमेश्वर जीवित हुनुहुन्छ। म तिमीसँग यो शपथ गर्दैछु। आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”
१ राजाहरू 1:9-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन अदोनियाहले एन-रोगेलनिरको खोल्सोछेउको जोहेलेत भन्ने चट्टानमा भेडा, साँढे र घरमा पालेका मोटा-मोटा बाछाहरूको बलि चढाए। तिनले दाऊद राजाका अन्य छोराहरू र यहूदाबाट आएका तिनका अधिकृतहरूलाई त्यस बलिको भोजमा निम्त्याए। तर तिनले आफ्नो सौतेनी भाइ सोलोमन, नातान अगमवक्ता, बनायाह र राजाका अङ्गरक्षकहरूलाई निम्त्याएनन्। तब नातान सोलोमनकी आमा बतशेबाकहाँ गए र सोधे, “हग्गितको छोरो अदोनियाह राजा भएको कुरा के तपाईंलाई थाहा भएन? अनि यसबारे दाऊद राजालाई केही कुरा थाहा छैन। तपाईं आफ्नो प्राण अनि आफ्ना छोरा सोलोमनको प्राणको रक्षा चाहनुहुन्छ भने झट्टै दाऊद राजाकहाँ गएर यसरी सोध्नुहोस् भनी म सल्लाह दिन्छु, ‘हे राजा! हजुरपछि मेरो सोलोमन राजा हुनेछ भनी के हजुरले मलाई प्रतिज्ञा गर्नुभएको होइन र? अहिले कसरी अदोनियाह राजा भए त?’ “अनि तपाईं राजासित बात गरिरहेका बेलामा म पनि आएर तपाईंका कुरा ठीक छन् भनी समर्थन गर्नेछु।” बतशेबा राजालाई भेट्न उनको सुत्ने कोठामा गइन्। तिनी धेरै बुढा भएका थिए र शूनम्मीबाट आएकी अबीशगले तिनको स्याहारसुसार गर्थी। राजाको सामुन्ने निहुरेर बतशेबाले दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छौ?” तिनले उत्तर दिइन्, “हे राजा! हजुरले आफूपछि मेरो छोरो सोलोमन राजा हुनेछ भनी परमप्रभु आफ्ना परमेश्वरको नाममा मसित गम्भीर प्रतिज्ञा गर्नुभएको थियो। तर अदोनियाह पो राजा भइसके रे अनि हजुरलाई यसबारे केही थाहा छैन। तिनले धेरै गाई-वस्तुहरू, मोटा-मोटा बाछाहरू र भेडाहरू बलि चढाएछन् र तपाईंका छोरा अबियाथार पूजाहारी र सेनापति योआबलाई भोजमा निम्त्याएछन्, तर तपाईंको छोरो सोलोमनलाई चाहिँ निम्तो पठाएनछन्। हे महाराज! इस्राएलका सारा प्रजाले हजुरपछि को राजा हुने भनेर हजुरको मुखबाट सुन्न पर्खिराखेका छन्। हजुरले केही गर्नुभएन भने हजुरको मृत्युपछि म र मेरो छोरो सोलोमनलाई राजद्रोहीलाई गरिने व्यवहार गरिनेछ।” रानी बोल्दै नै थिइन्, नातान राजमहलमा आइपुगे। तिनी आइपुगेको खबर राजाले पाए र भित्र गई नातानले निहुरेर राजालाई दण्डवत् गरे। नातानले भने, “हे महाराज! हजुरपछि अदोनियाह राजा हुनेछन् भनी के हजुरले घोषणा गर्नुभयो? तिनले धेरै साँढे, भेडा र मोटा-मोटा बाछाहरू बलि चढाएका छन्। तिनले सबै राजकुमारहरू, हजुरका सेनापति योआब र अबियाथार पूजाहारीलाई निम्त्याए र अहिले तिनीहरू अदोनियाहसित भोजमा बसेका छन् र अदोनियाह राजा दीर्घायु होऊन्! भनी कराइरहेका छन्। तर हजुर, तिनले मलाई वा सादोक पूजाहारी वा बनायाह वा सोलोमनलाई निम्तो पठाएनन्। के महाराजले यी सबै कुरामा आफ्नो मन्जुरी दिनुभयो र हामी हजुरका भारदारहरूलाई समेत आफूपछि को राजा भनेर पनि बताउनु भएन?” दाऊद राजाले भने, “बतशेबालाई यहाँ आउनू भन्।” तिनी आएर राजाका छेउमा उभिइन्। तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिन्छु कि तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ भन्ने तिमीलाई दिएको प्रतिज्ञा मैले परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा म आज पूरा गर्नेछु।”