१ यूहन्ना 5:1-21
१ यूहन्ना 5:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं। परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो। गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन् उच्च छ। किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन। तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ। सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन। हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।
१ यूहन्ना 5:1-21 नेपाली समकालीन संस्करण (NCV)
हरेक व्यक्ति जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो। अनि बुबालाई प्रेम गर्ने हरेकले परमेश्वरबाट जन्मेकोलाई पनि प्रेम गर्छ। हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं भन्ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर। परमेश्वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजयी पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्वाससमेत संसारलाई जितेको छ। संसारमाथि विजय प्राप्त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्दछ। उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। किनकि साक्षी दिनेहरू तीन छन्— पवित्र आत्मा, पानी र रगत, अनि यी तीन सहमत छन्। हामी मानिसका साक्षी ग्रहण गर्छौं, तर परमेश्वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। हरेक व्यक्ति जसले परमेश्वरका पुत्रमाथि विश्वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्वरमा विश्वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्वास गरेको हुँदैन। अनि साक्षी यही नै हो—परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन छैन। तिमीहरू परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु। परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ। अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्नुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग जे मागेका छौं, त्यो हामीले पाएका छौं भनी हामी जान्दछौं। यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ। सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्याउँदैन। जो परमेश्वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौं; परमेश्वरका पुत्रले उसलाई सधैं सुरक्षित राख्नुहुन्छ, अनि दुष्टले त्यसलाई हानि गर्न सक्दैन। हामी परमेश्वरका सन्तान हौं, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ भन्ने कुरा हामी जान्दछौं। हामी यो पनि जान्दछौं, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्न सकौं भनेर परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौं; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्टमा छौं। उहाँ नै एक मात्र सत्य परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। प्यारा नानीहरूहो, तिम्रो हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।
१ यूहन्ना 5:1-21 पवित्र बाइबल (NERV)
प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो। यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्: पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्। हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन। तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ। अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ। यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरूको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरूलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन। सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन। हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन। हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ। अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ। यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख।
१ यूहन्ना 5:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूलाई मुक्ति दिने राजा ख्रीष्ट भनेर विश्वास गर्ने जति सबै परमेश्वरका सन्तान हुन्। पितालाई प्रेम गर्नेले पुत्रलाई पनि प्रेम गर्छ। परमेश्वरलाई प्रेम गरेर अनि उहाँको आज्ञा मानेर नै उहाँका सन्तानलाई हामी प्रेम गर्छौं भन्ने थाहा हुन्छ किनभने परमेश्वरको आज्ञा मान्नु नै उहाँलाई प्रेम गर्नु हो। उहाँका आज्ञाहरू त्यति कठिन छैनन् किनभने परमेश्वरको प्रत्येक सन्तानले संसारलाई नै जित्न सक्नेछ। हाम्रो विश्वासले नै हामी संसारलाई जित्छौं। कसले संसार जित्न सक्छ? येशूलाई परमेश्वरका पुत्र भनेर विश्वास गर्नेले नै संसार जित्छ। येशू ख्रीष्ट पानी र रगतले आउनुभयो, पानीले मात्र होइन, रगतले पनि हो। यो सत्य हो भनी पवित्र आत्मा नै साक्षी हुनुहुन्छ किनभने पवित्र आत्मा नै सत्य हुनुहुन्छ। तीनैवटा साक्षीहरू छन्: आत्मा, पानी र रगत। यी तीनैवटाले एउटै साक्षी दिन्छन्। मान्छेले दिएको साक्षीमा हामी विश्वास गर्दछौं। तर परमेश्वरले दिनुभएको साक्षी अझ बलियो छ। परमेश्वरले नै आफ्नो पुत्रको बारेमा साक्षी दिनुभएको छ। त्यसो हुँदा परमेश्वरको पुत्रमाथि विश्वास गर्नेको आफ्नै हृदयभित्र यही साक्षी हुन्छ। तर परमेश्वरमा विश्वास नगर्नेचाहिँ परमेश्वरको साक्षीलाई नै झूटो सम्झन्छ किनभने पुत्रको बारेमा परमेश्वरले दिनुभएको साक्षीलाई नै पत्याउँदैन। साक्षी यही हो: परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवनको मुहान उहाँका पुत्रमा छ। परमेश्वरको पुत्र हुनेसँग जीवन हुन्छ, पुत्र नहुनेसँग जीवन हुँदैन। अनन्त जीवन पाएका छौ भनी तिमीहरूलाई थाहा होस् भनेर नै परमेश्वरका पुत्रमा विश्वास गर्ने तिमीहरूलाई यो लेख्दै छु। परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं। हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। यो सत्य हो भनी जानेको हुनाले हामीले यो पनि जान्दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं। कसैले आफ्नो भाइलाई मृत्युमा नपुर्याउने पाप गरिरहेको देख्छ भने परमेश्वरसित प्रार्थना गरिदेओस् र परमेश्वरले उसलाई जीवन दिनुहुनेछ। तर योचाहिँ मृत्युमा नपुर्याउने पाप गर्नेको लागि मात्र हो। मृत्युमा पुर्याउने पाप पनि छ। तर म तिमीहरूलाई यसको लागि प्रार्थना गर्न भन्दिनँ। सबै खराब काम जति पाप हो। तर सबै पापले मृत्युसम्म पुर्याउँदैन। परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने परमेश्वरका पुत्रले उसलाई जोगाउनुहुन्छ र शैतानले उसलाई हानि गर्न सक्दैन। यो हामीलाई थाहै छ। पूरै संसार शैतानको अधीनमा भए पनि हामीचाहिँ परमेश्वरका सन्तान हौं भनी हामीलाई थाहा छ। परमेश्वरको पुत्र आउनुभयो र उहाँले हामीलाई साँचो परमेश्वरलाई चिन्ने ज्ञान पनि दिनुभयो। यो हामीलाई थाहा छ। हामी उहाँका पुत्र येशू ख्रीष्टमा भएकोले साँचो परमेश्वरमा छौं। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ र यही अनन्त जीवन हो। मेरा बालकहरू, तिमीहरू मूर्तिहरूबाट अलग बस।