YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 4:7-19

१ यूहन्‍ना 4:7-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ। हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, उसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र उचाहिँ परमेश्‍वरमा। यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ। न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:7-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्‍वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो, र त्यसले परमेश्‍वरलाई जान्दछ। जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिनेको हुँदैन; किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ। परमेश्‍वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो। पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्‍टलाई यस संसारमा पठाउनुभयो। प्रेम यही नै हो, हामीले परमेश्‍वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्‍चितको बलि बनाएर पठाउनुभयो। प्रिय मित्रहरू हो, परमेश्‍वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौँ भने परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ। अनि हामीले देखेका छौँ र साक्षी दिन्छौँ; पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ। कुनै पनि व्यक्तिले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्‍वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्‍वरमा। अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ। यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन। हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:7-19 पवित्र बाइबल (NERV)

प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ। मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं। सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो। प्रिय मित्रहरू, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ। कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्यौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ। हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ। हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरूमा गवाही दिन्छौ। यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ। अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ। यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ। जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन। हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:7-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रिय मित्रहरू, हामीले एक-अर्कालाई प्रेम गरौं किनभने प्रेम परमेश्‍वरबाट आएको हो। प्रेम गर्ने परमेश्‍वरकै बालक हो र उसले परमेश्‍वरलाई चिन्‍दछ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरले हामीलाई यसरी प्रेम देखाउनुभयो कि उहाँका पुत्रबाट हामीले जीवन पाऔं भनेर उहाँले आफ्‍नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो। हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको लागि बलिदान हुन आफ्‍नो पुत्रलाई पठाउनुभयो। प्रेम भनेको यही नै हो। प्‍यारा मित्रहरू, परमेश्‍वरले यसरी हामीलाई प्रेम गर्नुभएको हो भने हामीले पनि एक-अर्कालाई प्रेम गरौं। कसैले कहिल्‍यै परमेश्‍वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीभित्र रहनुहुन्‍छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ। यसरी हामी परमेश्‍वरमा रहन्‍छौं र उहाँ पनि हामीमा रहनुहुन्‍छ भन्‍ने थाहा हुन्‍छ किनभने उहाँले हामीलाई आफ्‍नो पवित्र आत्‍मा दिनुभएको छ। परमेश्‍वर पिताले आफ्‍ना पुत्रलाई संसारमा मुक्ति दिन पठाउनुभएको हामीले देख्‍यौं र यसैको साक्षी दिन्‍छौं। येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भन्‍ने मानिसभित्र परमेश्‍वर बस्‍नुहुन्‍छ र परमेश्‍वरमा ऊ बस्‍छ। हामी आफैंले पनि परमेश्‍वरले हामीलाई प्रेम गर्नुभएको बुझ्‍दछौं र यसैमा भरोसा राख्‍छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ। प्रेममा लागिरहने मानिस परमेश्‍वरमा रहन्‍छ र परमेश्‍वर उसमा रहनुहुन्‍छ। यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्‍छ र न्‍यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्‍टजस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं। प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्‍छ। डरले नै सजाय हुन्‍छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन। परमेश्‍वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 4 पढ्नुहोस्

१ यूहन्‍ना 4:7-19

१ यूहन्‍ना 4:7-19 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter