१ यूहन्‍ना 2:20-27

१ यूहन्‍ना 2:20-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ। तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन। तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:20-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको हैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ। झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ। पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ। होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ। अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन। तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु। तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:20-27 पवित्र बाइबल (NERV)

तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन। यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ। जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन। म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:20-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तिमीहरूलाई चाहिँ ख्रीष्‍टले पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ र सत्‍य तिमीहरू सबैले जान्‍दछौ। तिमीहरू सत्‍यलाई चिन्‍दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्‍यलाई चिन्‍दछौ भनेरै लेखेको हुँ। सत्‍यबाट झूटो निक्लिँदैन भन्‍ने कुरा पनि तिमीहरूलाई थाहै छ। अनि झूटो को हो त? येशू ख्रीष्‍ट मुक्तिदिने राजा हुनुहुन्‍न भन्‍ने नै झूटो हो। त्‍यस्‍तो व्‍यक्ति नै ख्रीष्‍टविरोधी हो। यसले परमेश्‍वर पिता र पुत्र कसैलाई मान्‍दैन। पुत्रलाई नमान्‍नेले पितालाई नै मान्‍दैन अनि पुत्रलाई मान्‍नेले पितालाई पनि मान्‍दछ। त्‍यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्‍वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ। उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो। यी सबै कुरा तिमीहरूलाई भर्माउनेहरूको बारेमा लेखेको हुँ। तर तिमीहरूमाथि चाहिँ ख्रीष्‍टले आफ्‍नो पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्‍मा रहनुभएसम्‍म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्‍माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्‍छ। उहाँले सिकाउनुभएको कुरा सत्‍य हुन्‍छ, झूटो हुँदैन। पवित्र आत्‍माले दिनुभएको शिक्षा मानेर ख्रीष्‍टमा रहने गर।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्