YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 2:15-29

१ यूहन्‍ना 2:15-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌। संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ। ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो। तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ। तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन। तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो। साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌। उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:15-29 नेपाली समकालीन संस्करण (NCV)

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्छ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक; शरीरको अभिलाषा, उसको आँखाहरूको अभिलाषा र ऊसँग भएका जीवनको शेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो। अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैंको निम्ति जीवित रहिरहन्छ। हे प्यारा बालकहरूहो, यो नै आखिरी घडी हो; र ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैं, अहिले नै पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौं। तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ। तर तिमीहरूको अभिषेक पवित्रजनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको छैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ। झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ। पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ। होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ। अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन। तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु। तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले, त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो। अब हे प्यारा साना नानीहरूहो, उहाँमा रहिरहो, जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अघि हामीले शर्माउन नपरोस्। ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने, तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठीक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:15-29 पवित्र बाइबल (NERV)

संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ। मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्। तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन। यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ। जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन। म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस। हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:15-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्‍वरलाई प्रेम गर्दैन। संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्‍छा र जीवनको घमण्‍ड– यी कुराहरू परमेश्‍वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्। संसार र संसारका कुइच्‍छाहरू नाश भएर जान्‍छन्, तर परमेश्‍वरको इच्‍छामा लागिरहने मान्‍छेचाहिँ सधैँभरि रहिरहन्‍छ। मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्‍टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्‍टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं। तिनीहरू हाम्रा थिएनन् र त्‍यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्‍ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्। तर तिमीहरूलाई चाहिँ ख्रीष्‍टले पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ र सत्‍य तिमीहरू सबैले जान्‍दछौ। तिमीहरू सत्‍यलाई चिन्‍दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्‍यलाई चिन्‍दछौ भनेरै लेखेको हुँ। सत्‍यबाट झूटो निक्लिँदैन भन्‍ने कुरा पनि तिमीहरूलाई थाहै छ। अनि झूटो को हो त? येशू ख्रीष्‍ट मुक्तिदिने राजा हुनुहुन्‍न भन्‍ने नै झूटो हो। त्‍यस्‍तो व्‍यक्ति नै ख्रीष्‍टविरोधी हो। यसले परमेश्‍वर पिता र पुत्र कसैलाई मान्‍दैन। पुत्रलाई नमान्‍नेले पितालाई नै मान्‍दैन अनि पुत्रलाई मान्‍नेले पितालाई पनि मान्‍दछ। त्‍यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्‍वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ। उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो। यी सबै कुरा तिमीहरूलाई भर्माउनेहरूको बारेमा लेखेको हुँ। तर तिमीहरूमाथि चाहिँ ख्रीष्‍टले आफ्‍नो पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्‍मा रहनुभएसम्‍म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्‍माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्‍छ। उहाँले सिकाउनुभएको कुरा सत्‍य हुन्‍छ, झूटो हुँदैन। पवित्र आत्‍माले दिनुभएको शिक्षा मानेर ख्रीष्‍टमा रहने गर। मेरा बालकहरू, उहाँमा रहो र उहाँ देखा पर्नुहुँदा हामीले साहस पाउनेछौं अनि उहाँ आउनुहुने त्‍यो दिन उहाँको अघि हामीले लाज मान्‍नुपर्नेछैन। ख्रीष्‍ट धर्मी हुनुहुन्‍छ भनी तिमीहरूलाई थाहै छ। त्‍यसो हुँदा तिमीहरूले जान्‍नुपर्दछ कि परमेश्‍वरको अघि ठीक हुने काम गर्नेचाहिँ परमेश्‍वरकै सन्‍तान हुन्।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:15-29

१ यूहन्‍ना 2:15-29 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्