१ यूहन्ना 2:15-21
१ यूहन्ना 2:15-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ। ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो। तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
१ यूहन्ना 2:15-21 नेपाली समकालीन संस्करण (NCV)
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्छ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक; शरीरको अभिलाषा, उसको आँखाहरूको अभिलाषा र ऊसँग भएका जीवनको शेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो। अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्वरको इच्छाअनुसार गर्ने मानिस सधैंको निम्ति जीवित रहिरहन्छ। हे प्यारा बालकहरूहो, यो नै आखिरी घडी हो; र ख्रीष्ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैं, अहिले नै पनि धेरै ख्रीष्ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौं। तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्ने कुरा प्रकट गर्दछ। तर तिमीहरूको अभिषेक पवित्रजनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको छैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ।
१ यूहन्ना 2:15-21 पवित्र बाइबल (NERV)
संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ। मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्। तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
१ यूहन्ना 2:15-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्वरलाई प्रेम गर्दैन। संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्छा र जीवनको घमण्ड– यी कुराहरू परमेश्वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्। संसार र संसारका कुइच्छाहरू नाश भएर जान्छन्, तर परमेश्वरको इच्छामा लागिरहने मान्छेचाहिँ सधैँभरि रहिरहन्छ। मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं। तिनीहरू हाम्रा थिएनन् र त्यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्। तर तिमीहरूलाई चाहिँ ख्रीष्टले पवित्र आत्मा खन्याइदिनुभएको छ र सत्य तिमीहरू सबैले जान्दछौ। तिमीहरू सत्यलाई चिन्दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्यलाई चिन्दछौ भनेरै लेखेको हुँ। सत्यबाट झूटो निक्लिँदैन भन्ने कुरा पनि तिमीहरूलाई थाहै छ।