१ यूहन्ना 1:5-10
१ यूहन्ना 1:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।
१ यूहन्ना 1:5-10 नेपाली समकालीन संस्करण (NCV)
यही सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कति पनि अँध्यारो छँदैछैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौं, र पनि अन्धकारमा नै हिँड्छौं भने ता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौं भने ता, एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी दाबी गर्छौं भने हामीले उहाँलाई झूटा तुल्याउँछौं र हाम्रो जीवनमा उहाँको वचन रहँदैन।
१ यूहन्ना 1:5-10 पवित्र बाइबल (NERV)
हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन। यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौं, हामी सत्यको अनुशरण गरिरहेका छैनौ। परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ। यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन। तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ। यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं।
१ यूहन्ना 1:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब हामीले परमेश्वरका पुत्रबाट सुनेको सन्देश यही हो– परमेश्वर नै उज्यालो हुनुहुन्छ र उहाँमा रत्तिभर अँध्यारो छैन। हामी उहाँको संगतिमा छौं भनी भन्छौं, तर अन्धकारमा नै बस्छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं। तर उहाँ उज्यालोमा हुनुभएजस्तै हामी पनि उज्यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्छौं अनि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ। हामीले आफूमा पाप छैन भन्यौं भने हामी आफैंलाई धोखा दिन्छौं र हामीमा सत्य हुँदैन। तर हामीले आफ्ना पाप परमेश्वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ। हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटो ठहर्याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।