१ यूहन्ना 1:1-5
१ यूहन्ना 1:1-5 पवित्र बाइबल (NERV)
हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं। हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श गर्यौं। हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ। त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरूलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरूलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो। अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरू भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरूको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ। हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेकाछौं जसद्वारा तिमीहरू आनन्दले परिपूर्ण हुन सक्नेछौ। हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।
१ यूहन्ना 1:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जीवनको त्यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रा हातले छोयौं, त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द पूर्ण होस्। जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।
१ यूहन्ना 1:1-5 नेपाली समकालीन संस्करण (NCV)
जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौं, जसलाई हामीले हाम्रै आँखाले देखेका छौं, जसलाई हामीले हेरेका छौं र हाम्रै हातले छोएका छौं; अनि यही जीवनको वचनको विषयमा हामी घोषणा गर्दछौं। अनि त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौं, र उहाँकै साक्षी दिन्छौं, अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौं, जो पितासँग थियो र हामीकहाँ प्रकट हुनुभएको छ। हामीले जे देखेका र सुनेका छौं, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौं, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। त्यसैले हामी यो कुरा हाम्रो आनन्दपूर्ण होस् भनेर लेख्दछौं। यही सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कति पनि अँध्यारो छँदैछैन।
१ यूहन्ना 1:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुरुदेखि नै भएका, हामीले नै सुनेका अनि आफ्नै आँखाले देखेका अनि नियालेर हेरेका र आफ्नै हातले छामेका जीवनको वचनको विषयमा हामी लेख्दै छौं। जब यो जीवन प्रकट भयो, हामीले देख्यौं र साक्षी दिन्छौं अनि तिमीहरूलाई पनि भन्छौं, यो अनन्त जीवन पितासँग थियो र हामीकहाँ प्रकट भयो। तिमीहरू पनि हामीसँग संगति गर भनेर नै हामीले जे देखेका र सुनेका छौं, त्यो तिमीहरूलाई प्रचार गर्दछौं। हाम्रो संगतिचाहिँ परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। हाम्रो आनन्द पूरा होस् भनेर नै हामी यो लेख्दै छौं। अब हामीले परमेश्वरका पुत्रबाट सुनेको सन्देश यही हो– परमेश्वर नै उज्यालो हुनुहुन्छ र उहाँमा रत्तिभर अँध्यारो छैन।