१ कोरिन्थी 4:1-5
१ कोरिन्थी 4:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी मानिसले हामीहरूलाई ख्रीष्टका सेवक र परमेश्वरका रहस्यहरूका भण्डारे ठान्नुपर्दछ। त्यसबाहेक यो आवश्यक छ, कि भण्डारेहरू विश्वासयोग्य ठहरिनुपर्छ। तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्साफ हुनु, यो त मेरो निम्ति अति सानो कुरो हो, म आफै पनि आफ्नो इन्साफ गर्दिनँ। मेरो आफ्नै विरुद्धमा केही छ भन्ने मलाई थाहा छैन, तर त्यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्याय गर्ने त प्रभु नै हुनुहुन्छ। यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउञ्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ।
१ कोरिन्थी 4:1-5 नेपाली समकालीन संस्करण (NCV)
यसरी तिमीहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यका भण्डारे ठान्नुपर्छ। भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ। यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरो हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ। मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ। यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर; प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट पाउनुपर्ने प्रशंसा पाउनेछन्।
१ कोरिन्थी 4:1-5 पवित्र बाइबल (NERV)
हामीबारे मानिसहरूले के सम्झनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं। यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि ऊ त्यो विश्वासको योग्य छ। यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफैं पनि आफूलाई जाँच्दिन। मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ। यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।
१ कोरिन्थी 4:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीलाई तिमीहरूले ख्रीष्टका दास अनि परमेश्वरको रहस्य खोल्ने सेवक सम्झिनुपर्छ। सेवकचाहिँ मालिकको विश्वासी हुनैपर्छ। मलाई तिमीहरूले वा अरू अदालतले दोषी ठहराए पनि त्यसको चिन्ता छैन न ता म आफ्नै न्याय-निसाफ गर्छु। आफ्नो दोष मलाई थाहा छैन, तर यसले म साँच्चै निर्दोषी छु भनेर देखाउँदैन। मलाई जाँच्ने त प्रभु नै हुनुहुन्छ। यसैकारण तिमीहरूले ठीक समयभन्दा अघि नै कसैलाई दोष नलाऊ। आखिरी न्याय प्रभु आउनुभएपछि नै हुनेछ। प्रभुले नै अन्धकारमा लुकेका सबै कुरा उज्यालोमा ल्याउनुहुनेछ र मान्छेका मनका कुराहरू देखाइदिनुहुनेछ। त्यस बेला सबै मानिसले पाउनुपर्ने स्याबासी परमेश्वरबाट पाउनेछ।