१ कोरिन्थी 3:10-15
१ कोरिन्थी 3:10-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
१ कोरिन्थी 3:10-15 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु मिस्त्रीलेझैं एउटा जग बसालेको छु, र अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउनुपर्छ। तर बसालिएको जगबाहेक अर्को कुनै जग कसैले बसाल्न सक्दैन, स्वयम् येशू ख्रीष्ट बसालिएको जग त्यो जग हुनुहुन्छ। यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने तिनीहरूका काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले तिनीहरूका कामलाई ज्योतिमा ल्याइनेछ। आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। यदि त्यसले बनाएको काम रह्यो भने त्यस कामदारले इनाम पाउनेछ। यदि त्यो काम जलेर नष्ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैं आफूचाहिँ बच्नेछ।
१ कोरिन्थी 3:10-15 पवित्र बाइबल (NERV)
परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।
१ कोरिन्थी 3:10-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको अनुग्रहले गर्दा मैले सिपालु मूल कर्मीले झैँ जग हाल्न पाएँ, अनि अरूले चाहिँ यसमाथि घर बनाउँदछन्। घर बनाउने हरेकले कसरी बनाउनुपर्ने हो, राम्ररी होश राख्नुपर्छ किनभने परमेश्वरले हाल्नुभएको एउटै जग येशू ख्रीष्ट नै हुनुहुन्छ। कसैले अरू कुनै जग हाल्न सक्तैन। यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्। सबै मानिसको राम्रो-नराम्रो काम परमेश्वरले न्याय गर्नुहुने दिनमा जाँचिनेछ किनभने त्यस दिन तिनीहरूले गरेको काम कस्तो रहेछ, आगोमा हालेर जाँचेर हेरिनेछ। त्यस जगमा बनाउने मानिसको काम आगोमा हाल्दा खरानी भएन भने उसले इनाम पाउनेछ। यदि कोही मानिसको काम जल्यो भने उसले त्यो गुमाउनेछ तर आगोबाट उम्केझैँ ऊ आफैं त बचाइनेछ।