१ कोरिन्थी 15:42-58

१ कोरिन्थी 15:42-58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मृतकहरूको पुनरुत्‍थान पनि त्‍यस्‍तै हो। जुन शरीर विनाशमा गाडिन्‍छ, त्‍यो अविनाशमा जीवित हुन्‍छ। अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीर छ भने आत्‍मिक शरीर पनि अवश्‍य हुन्‍छ। यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो। पहिलोचाहिँ आत्‍मिक होइन, तर प्राकृतिक हो, र त्‍यसपछि चाहिँ आत्‍मिक हो। पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो। माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌। जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्‍यसरी नै स्‍वर्गका मानिसको रूप धारण गर्नेछौं। अब भाइ हो, म तिमीहरूलाई यो भन्‍दछु, मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन, न त विनाश अविनाशको हकदार हुन सक्‍छ। हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।” “ए मृत्‍यु, तेरो विजय कहाँ? ए मृत्‍यु, तेरो खील कहाँ?” मृत्‍युको खील पाप हो, र पापको शक्ति व्‍यवस्‍था हो। तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ। यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्

१ कोरिन्थी 15:42-58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मरेकाहरूको पुनरुत्थान पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ। त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ। त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ। यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि हुन्छ। यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो। पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ। दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन, न त विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ। सुन, म तिमीहरूलाई एउटा रहस्य भन्दछु: हामी सबै जना सुतिजानेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ; एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ। किनकि विनाशीले अविनाशी रूप धारण गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्युलाई विजयमा निलिएको छ।” “ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?” मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो। तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्

१ कोरिन्थी 15:42-58 पवित्र बाइबल (NERV)

जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ। शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ। भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ। धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।” आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो। मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्। जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ। दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन। तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं। यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः “मृत्यु विजयमा निलिएको छ।” “हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?” मृत्युको बिषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो। तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ। यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्

१ कोरिन्थी 15:42-58 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मरेकाहरू बिउँतदा पनि यस्‍तै हुन्‍छ। गाडिंदा शरीर मर्ने भएर गाडिन्‍छ; तर बिउँतदा अमर बनेर उठ्‍नेछ। गाडिंदा हाम्रो शरीर नराम्रो र कमजोर हुन्‍छ, फेरि बिउँतदा राम्रो र शक्तिशाली भएर आउँछ। गाडिंदा हाड-मासुको शरीर भएर गाडिन्‍छ, फेरि बिउँतदा आत्‍मिक शरीर भएर बिउँतनेछ। हाड-मासुको शरीर हुन्‍छ, यसरी नै आत्‍मिक शरीर पनि हुन्‍छ। त्‍यसैले धर्मशास्‍त्रमा यो लेखिएको छ, “पहिलो मानिस आदमचाहिँ जीवन पाउने मानिस थिए।” तर आखिरी आदम (ख्रीष्‍ट) चाहिँ जीवन दिने आत्‍मा नै हुनुहुन्‍छ। तैपनि आत्‍मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्‍यसपछि आत्‍मिक शरीर आउनुभयो। पहिले आदम पृथ्‍वीको माटोबाट बनियो, दोस्रो आदमचाहिँ स्‍वर्गबाट आउनुभयो। पृथ्‍वीका मानिसहरू माटोले बनाएको जस्‍तै हुन्, स्‍वर्गका मानिसहरूचाहिँ स्‍वर्गबाट आउनुभएका मानिसजस्‍तै हुन्‍छन्। हामीले अहिले माटाले बनेको शरीर लिएका छौं। त्‍यसरी नै पछि हामी स्‍वर्गको मानिसको रूपमा नयाँ शरीर लिनेछौं। भाइहरू, मैले भन्‍न खोजेको चाहिँ यो रगत र मासुले परमेश्‍वरको राज्‍यमा पस्‍ने हक पाउन सक्‍दैन। नाश हुनेले नाश नहुने हक पाउन सक्‍दैन। सुन, म एउटा रहस्‍यको कुरो भन्‍छु, हामी सबै त मर्नेछैनौं, तर सबै जना फेरिनेछौं। त्‍यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्‍नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्‍नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं। मर्ने अमर बन्‍नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ। नाश हुने नाश नहुने हुँदा मर्ने नमर्ने भएर फेरिंदा धर्मशास्‍त्रले भनेको कुरा पूरा हुन्‍छ, “मृत्‍यु नै मारियो, जित पूरा भयो,” “खै मृत्‍यु, तैँले कहाँ जितिस्? मृत्‍यु तेरो शक्ति खै?” मृत्‍युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो। तर परमेश्‍वरलाई धन्‍यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्‍टद्वारा हामीलाई जित दिनुहुन्‍छ। त्‍यसैकारण प्‍यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।

शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्