YouVersion लोगो
खोज आइकन

१ इतिहास 29:1-20

१ इतिहास 29:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि राजा दाऊदले सारा समुदायलाई भने, “मेरा छोरा सोलोमन, कलिलै उमेरका सोलोमनलाई नै परमेश्‍वरले चुन्‍नुभएको छ। यो काम महान्‌ छ, किनकि यो भवन मानिसको निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो। मेरा सबै बलले भ्‍याएसम्‍म मैले मेरा परमेश्‍वरका मन्‍दिरको लागि सुनका कामको निम्‍ति सुन, चाँदीका कामको निम्‍ति चाँदी, काँसाको निम्‍ति काँसा, फलामको निम्‍ति फलाम, काठको निम्‍ति काठ, र मणिघरको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्‍त गरी तयार पारिराखेको छु। त्‍यसबाहेक मेरा परमेश्‍वरको मन्‍दिरप्रति मलाई ज्‍यादा भक्ति भएको हुनाले मेरा परमेश्‍वरका मन्‍दिरको निम्‍ति म मेरो आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्‍दिरको निम्‍ति मैले जम्‍मा गरेका सबै थोकबाहेक हो— अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्‍दिरका भित्ताहरू मोहोर्नलाई, सुनका कामको निम्‍ति र चाँदीको कामको निम्‍ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्‍ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ?” तब घराना-घरानाका नायकहरू, इस्राएलका कुलहरूका अधिकृतहरू, हजार र सयका सेनापतिहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले, राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए। त्‍यसबाहेक जस-जसकहाँ दामी-दामी रत्‍नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए। मानिसहरूले आफ्‍ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्‍द मनाए, किनकि तिनीहरूले आफ्‍ना हृदयको भक्तिसाथ परमप्रभुको निम्‍ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्‍दित भए। दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ। धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌। अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं। “तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मानको निम्‍ति भवन बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्‌। हे मेरा परमेश्‍वर, म जान्‍दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्‍छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्‍छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्‍थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्‍दा अब मलाई आनन्‍द लागेको छ। हे हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका प्रजाको यो अभिप्राय सधैँको निम्‍ति कायम राख्‍नुहोस्, र तिनीहरूका हृदयलाई तपाईंतिर खिँच्‍नुहोस्‌। मेरा छोरा सोलोमनले तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक-नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन गर्न अनुग्रह गर्नुहोस्, र तिनले ती सबै पूरा गर्न सकून्, र तिनले त्‍यो भवन निर्माण गर्न सकून्, जसको निम्‍ति मैले सबै कुरा तयार पारिराखेको छु।” तब सारा समुदायतिर फर्केर दाऊदले भने, “अब परमप्रभु तिमीहरूका परमेश्‍वरको प्रशंसा गर।” यसैले सारा समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे। तिनीहरूले परमप्रभु र राजाको सामु घोप्‍टो परी साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्

१ इतिहास 29:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब राजा दावीदले सारा समुदायलाई भने: “परमेश्‍वरले चुन्‍नुभएको मेरो छोरा सोलोमन, त्यो कलिलो र अनुभवहीन छ। तर त्यसले गर्नुपर्ने काम ठूलो छ; किनकि यो भवन मानिसहरूका निम्ति होइन, तर याहवेह परमेश्‍वरका निम्ति हो। मैले आफ्नो शक्तिले भ्याएसम्म मेरा परमेश्‍वरको भवनका निम्ति आवश्यक सरसामानहरू सकभर जुटाएको छु—सुनका कामको निम्ति सुन, चाँदीका निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम र काठको निम्ति काठ। यसकासाथै जडान जड्न गोमेद, नीलमणि, विभिन्‍न रङ्गका बहुमूल्य पत्थरहरू, विभिन्‍न प्रकारका ढुङ्गाहरू र सिङ्गमरमरहरू, सबै कुराहरू प्रशस्त मात्रामा छन्। यसबाहेक मेरा परमेश्‍वरको मन्दिरका निम्ति मेरो गहिरो अभिरुचि भएकोले माथि जुटाएका सबै कुराहरूभन्दा धेरै आफ्ना व्यक्तिगत भण्डारबाट सुन र चाँदी मैले यस पवित्र मन्दिरका निम्ति दिएको छु; अर्थात् भवनको भित्ताहरू मोहोर्न अर्थात् सिगार्नलाई तीन हजार टालेन्ट सुन (ओपीरको सुन) र सात हजार टालेन्ट खारिएको चाँदी, सुन र चाँदीको कामका निम्ति र कारिगरहरूले गर्नुपर्ने सबै कामका निम्ति दिएको छु। अब आजको दिन याहवेहकहाँ आफूलाई अर्पण गर्न को राजी छ?” तब परिवारहरूका अगुवाहरू, इस्राएल कुलहरूका अधिकारीहरू, हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू; अनि राजाको कामको जिम्मामा खटिएका अधिकृतहरूले राजीखुशीसाथ दिए। तिनीहरूले परमेश्‍वरको मन्दिरका कामको निम्ति पाँच हजार टालेन्ट सुन, दश हजार दारिक सुन र दश हजार टालेन्ट चाँदी, अठार हजार टालेन्ट काँसा र एक लाख टालेन्ट फलाम दिए। बहुमूल्य पत्थरहरू हुनेहरूले त्यो गेर्शोनी यहीएलको जिम्मामा रहेका याहवेहको मन्दिरको भण्डारमा दिए। मानिसहरूले तिनीहरूका अगुवाहरूलाई राजीखुशीसाथ दिएकोमा खुशी भए; किनकि तिनीहरूले राजीखुशी र सम्पूर्ण हृदयले याहवेहलाई दिएका थिए। राजा दावीद पनि साह्रै आनन्दित भए। दावीदले सारा समुदायको उपस्थितिमा याहवेहको प्रशंसा गर्दै भने: “हे हाम्रा इस्राएलका परमेश्‍वर, याहवेह, अनन्तदेखि अनन्तसम्म तपाईंको प्रशंसा भइरहोस्। हे याहवेह, महानता, शक्ति, महिमा, वैभव र प्रताप तपाईंकै हुन्; किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्। हे याहवेह, राज्य, तपाईंकै हो; तपाईं सबैमाथि सर्वोच्‍च हुनुहुन्छ। धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्; तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ। सबैलाई उच्‍च पार्न र सामर्थ्य तुल्याउन, पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्। अनि अब, हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ। “तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ। हामी तपाईंको दृष्‍टिमा हाम्रा सबै पुर्खाहरूझैँ परदेशी र प्रवासीहरू हौँ। यस पृथ्वीमा हाम्रा दिनहरू छायाजस्तै छन् र कुनै आशा छैन। हे याहवेह हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नामको खातिर मन्दिर बनाउनका निम्ति हामीले प्रबन्ध गरेका यी सबै प्रशस्त कुराहरू तपाईंकै हातबाट आएको हो, र यी सबै कुराहरू तपाईंकै हो। मेरा परमेश्‍वर, तपाईंले हृदय जाँच्नुहुन्छ र इमानदारीसँग तपाईं खुशी हुनुहुन्छ भनी म जान्दछु। यी सबै कुराहरू मैले राजीखुशीसाथ र साँचो मनले दिएको हुँ। अनि अहिले यहाँ भएका तपाईंका मानिसहरूले कति राजीखुशीसँग आनन्दसाथ तपाईंलाई दिएका छन्, त्यो मैले देखेको छु। हे याहवेह, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका मानिसहरूका हृदयमा यो विचार सदासर्वदा कायम राख्नुहोस्; अनि तिनीहरूका हृदय तपाईंप्रति विश्‍वासयोग्य बनाइराख्नुहोस्। मेरो छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका नियमहरू र उर्दीहरू पालन गर्न; अनि मैले जुटाएका यी सबै कुराले यस भवनको ढाँचा निर्माण गर्न सम्पूर्ण हृदयले गर्ने इच्छा दिनुहोस्।” तब दावीदले सम्पूर्ण समुदायलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको प्रशंसा गर!” यसकारण तिनीहरू सबैले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे; तिनीहरूले याहवेह र राजाको सामु भुइँमा लम्पसार परेर दण्डवत् गरे।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्

१ इतिहास 29:1-20 पवित्र बाइबल (NERV)

राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो। मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोड्ने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईँटा, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो सँगमर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु। मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु। मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो। मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?” परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे। यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000 असर्फी, 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम। मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए। मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए। त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्। महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ। धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्। यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं। सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं। किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं। यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाँयाँ जस्तो हामी यसलाई रोक्ने आशा गर्देनौ। हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं। हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं। तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्। हरेक थोक तपाईकै हुन्। मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँच गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्। हे परमप्रभु तपाई हाम्रा पुर्खा अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ। कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्। तिनीहरूलाई तपाईप्रति धन्यवादी हुनमा सहायता गर्नुहोस्। अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्। तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैँ त्यसलाई सहायता गर्नुहोस्। सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस् अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।” तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्

१ इतिहास 29:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊद राजाले सम्‍पूर्ण जन-समुदायलाई यस्‍तो घोषणा गरे, “परमेश्‍वरले चुन्‍नुभएको व्‍यक्ति मेरो छोरो सोलोमन हो; तर त्‍यो अहिले कलिलै छ र अनुभवमा कम छ। गर्नुपर्ने काम ठूलो छ किनभने यो मानिसको लागि बनाइने महल होइन; तर परमप्रभु परमेश्‍वरको मन्‍दिर हो। मन्‍दिरको लागि चाहिने सबै सामान तयार पार्ने चेष्‍टा मैले सकभर गरेको छु— सुन, चाँदी, काँसा, फलाम, काठपात, बहुमूल्‍य पत्‍थर र रत्‍नहरू, सिँङ्गार्ने रङ्गी-विरङ्गी ढुङ्गाहरू र धेरै सिङ्गमरमरहरू यहाँ छन्। मैले बटुलेका यी सबै कुराहरूमाथि मैले आफ्‍नो निजी भण्‍डारबाट चाँदी र सुन थपेको छु किनभने म परमेश्‍वरको मन्‍दिरलाई प्रेम गर्दछु। मन्‍दिरका भित्ताहरू सिँगार्न र कारिगरहरूले बनाउनुपर्ने अरू सबै कुराहरूको लागि मैले एक सय टनभन्दा बढ्ता निखुर सुन र करिब दुई सय चालीस टन चाँदी दिएको छु। अब परमप्रभुलाई मुट्ठी खोलेर भेटी चढाउन अरूको-को राजी छन्?” तब गोत्र-गोत्रका अगुवाहरू, कुल-कुलका अधिकृतहरू, सेनाका कप्‍तानहरू र राजकीय सम्‍पत्तिका रेख-देख गर्ने अधिकारीहरूले आफ्‍नो इच्‍छाले मन्‍दिरको कामको लागि यी कुराहरू दिए— १७० टनभन्दा धेरै सुन, ३४० टनभन्दा धेरै चाँदी, करिब ६२० टन काँसा र ३,४०० टनभन्दा ज्‍यादा फलाम। जोसँग अमूल्‍य रत्‍नहरू थिए, ती तिनीहरूले मन्‍दिरको भण्‍डारमा दिए, जसको जिम्‍मेवारचाहिँ गेर्शोनका लेवी कुलका यहीएल थिए। अगुवाहरूले ती कुरा राजीखुसीले परमप्रभुलाई दिएका थिए। त्‍यति धेरै भेटीहरू जम्‍मा भएकोमा मानिसहरू खुसी थिए। दाऊद राजा पनि औधी खुसी थिए। त्‍यहाँ सम्‍पूर्ण जन-समुदायअघि दाऊद राजाले परमप्रभुको प्रशंसा गरे। तिनले भने, “परमप्रभु हाम्रा पुर्खा याकूबका परमेश्‍वर, तपाईंको प्रशंसा सदासर्वदा होइरहोस्! तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्‍छ। स्‍वर्ग र पृथ्‍वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्‍च शासक हुनुहुन्‍छ। सारा धन-सम्‍पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्‍नो शक्ति र प्रतापले शासन गर्नुहुन्‍छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्‍नुहुन्‍छ। अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं। “तथापि म र मेरा प्रजाले वास्‍तवमा तपाईंलाई केही पनि दिन सक्‍दैनौं किनभने सबै थोक तपाईंका दान हुन् र ती तपाईंकै हुन्, त्‍यो त फर्काएका मात्र हौं। हे परमप्रभु, तपाईं जान्‍नुहुन्‍छ कि हामी हाम्रा जीवन हाम्रा पितापुर्खाहरूजस्‍तै परदेशी र देशनिकालाहरूजस्‍ता भएर बिताउँछौं। हाम्रा जीवन सरिजाने छायाँजस्‍तो छ र हामी मृत्‍युबाट भाग्‍न सक्‍दैनौं। हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नामको आदर गर्न मन्‍दिर बनाउन हामीले यो धन जम्‍मा गरेका छौं तर यी सबै तपाईंबाट आएका हुन् र तपाईंकै हुन्। म जान्‍दछु कि तपाईंले हरेकको हृदय जाँच्‍नुहुन्‍छ र निष्‍कपट मानिससित खुसी हुनुहुन्‍छ। यी सबै थोक मैले राजी-खुसीले इमानदारी र शुद्ध हृदयसाथ तपाईंलाई चढाएको छु। तपाईंका मानिसहरू, जो यहाँ भेला भएका छन्, तपाईंकहाँ आफ्‍ना भेटीहरू ल्‍याउँदा खुसी छन्, त्‍यो मैले देखेको छु। परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्‍वर, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर यस्‍तो भक्ति आफ्‍ना प्रजाका हृदयमा दरिलो पारी राखिदिनुहोस् र तिनीहरूलाई सदासर्वदा आफूतर्फ विश्‍वासयोग्‍य बनाइराख्‍नुहोस्। मेरो छोरो सोलोमनलाई तपाईंका सबै आज्ञा मान्‍ने र तपाईंको मन्‍दिर बनाउने हृदयदेखिको इच्‍छा दिनुहोस्। तपाईंको मन्‍दिर बनाउन मैले यी कुराहरू तयारी गरेको छु।” त्‍यसपछि दाऊदले मानिसहरूलाई आज्ञा दिए, “परमप्रभु, तिम्रा परमेश्‍वरको प्रशंसा गर!” सारा जन-समुदायले परमप्रभु आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरको र भूइँसम्‍म शिर निहुराएर परमप्रभु र राजालाई आदर गर्दै प्रणाम गरे।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्