मर्कूस 5:35-43
मर्कूस 5:35-43 NCV
येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?” उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।” उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्नाबाहेक अरूलाई आउन दिनुभएन। जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो। उहाँ भित्र पसेर तिनीहरूलाई भन्नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।” तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो। उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)। तब त्यो केटी तुरुन्तै जुरुक्क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने। उहाँले यसबारे कसैलाई नभन्नू भनेर आज्ञा दिँदै त्यस केटीलाई केही खानेकुरा दिनू भनी तिनीहरूलाई भन्नुभयो।


