YouVersion लोगो
खोज आइकन

मर्कूस 10:17-31

मर्कूस 10:17-31 NCV

येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, एकजना मानिस दगुर्दै आएर उहाँको सामुन्‍ने घुँडा टेक्यो, अनि सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक मात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले नचोर्नू, तैंले झूटो साक्षी नदिनू, तैंले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” त्यसले घोषणा गर्‍यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।” येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएको सबै कुरा बेचेर गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा धन प्राप्‍त हुनेछ। तब आऊ, अनि मलाई पछ्याऊ।” यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो, किनकि ऊसित धेरै सम्पत्ति थियो। येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ!” उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे केटाकेटीहो, परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति कठिन छ! कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसको लागि त यो असम्भव छ, तर परमेश्‍वरको लागि छैन; परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।” पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कि आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्‍चा अथवा जग्गाजमिन मेरो र सुसमाचारको निम्ति त्याग्नेहरू कसैले पनि सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता: घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू अनि जग्गाजमिन र साथै आउने युगमा, अनन्त जीवन पनि प्राप्‍त गर्नेछ। तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्; अनि धेरै जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।”

मर्कूस 10 पढ्नुहोस्