YouVersion लोगो
खोज आइकन

मर्कूस 1:1-45

मर्कूस 1:1-45 NCV

परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुआत, यशैया अगमवक्‍ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” “उजाडस्थानमा कराइरहनेको एउटा आवाज, ‘प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सीधा बनाओ।’ ” अनि यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा, पाप क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए। यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू, अनि यरूशलेमका मानिसहरू तिनीकहाँ गए। आफ्ना पापहरू स्वीकार गर्दै, तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे, कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वनमह खान्थे। तिनको सन्देश यस्तो थियो: “मपछि मभन्दा एकजना शक्‍तिशाली आउनुहुनेछ, जसको जुत्ताको फित्ता निहुरेर फुकाउने योग्यको म छैनँ। म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।” त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, अनि यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो। जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको अनि पवित्र आत्मालाई ढुकुरझैं उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसित म अति प्रसन्‍न छु।” पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म रहनुभयो। उहाँ जङ्गली जनावरहरूसित हुनुहुन्थ्यो, अनि स्वर्गदूतहरूले उहाँको सेवाटहल गरे। यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर अनि सुसमाचारमा विश्‍वास गर!” जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु।” तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे। उहाँ अझ अलि पर पुग्नुहुँदा उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। ढिलाइ नगरी उहाँले तिनीहरूलाई बोलाउनुभयो, अनि तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्‍यालादारहरूको साथमा डुङ्गामा छोडे र उहाँलाई पछ्याए। उहाँहरू कफर्नहुममा जानुभयो, अनि जब विश्रामदिन आइपुग्यो, येशू सभाघरमा गएर सिकाउन थाल्नुभयो। मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्‍तिले झैं सिकाउनुहुन्थ्यो। त्यति नै बेला अशुद्ध आत्मा लागेको एकजना मानिस सभाघरमा यसरी करायो, “हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चूप लाग्! त्यसबाट निस्किजा!” अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, अनि चिच्याएर त्यसबाट निस्क्यो। तब ती मानिसहरू यति छक्‍क परे कि, तिनीहरूले आपसमा भने, “यो के हो? एउटा अधिकार सहितको नयाँ शिक्षा! यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, अनि तिनीहरूले यिनको आज्ञा मान्दछन्।” अनि उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो। उहाँहरूले सभाघर छोड्नासाथै उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, अनि तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। अनि उहाँ तिनीकहाँ जानुभयो, तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। शहरका सारा मानिसहरू ढोकामा नै भेला भए; अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनकि तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे। एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो अनि एउटा एकान्त ठाउँमा जानुभयो, र त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। अनि सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए, अनि जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔं, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैको लागि आएको हुँ।” यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो। एकजना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आयो र घुँडा टेकेर उहाँसित विन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने, मलाई निको पार्न सक्नुहुन्छ।” दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध भइजाऊ!” तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, अनि त्यो शुद्ध भयो। येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो: “यो कुरो कसैलाई नभन्‍नू; तर जाऊ, आफैलाई पूजाहारीकहाँ देखाऊ, अनि मोशाले तिमीहरूको शुद्धीकरणको निम्ति दिएका आज्ञाअनुसार, तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।” तर त्यो त बाहिर गयो, र खुल्‍लमखुल्‍ला त्यो खबर फैलाउनथाल्यो। त्यसकारण उहाँ शहरमा पस्‍न सक्नुभएन, तर बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।

मर्कूस 1 पढ्नुहोस्