जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। कुष्ठरोग लागेको एकजना मानिस आएर उहाँको अघि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको होइजाऊ!” अनि तुरुन्तै ऊ आफ्नो कुष्ठरोगबाट निको भइहाल्यो। तब येशूले त्यसलाई भन्नुभयो, “यो कुरो कसैलाई नभन, तर जाऊ, आफैलाई पूजाहारीकहाँ देखाऊ; अनि तिनीहरूलाई साक्षीको लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”
जब येशू कफर्नहुममा आउनुभयो, एकजना कप्तानले उहाँकहाँ आएर सहायता मागे। तिनले भने, “हे प्रभु, घरमा मेरो सेवक पक्षघातको रोगले धेरै कष्ट पाइरहेको छ।”
येशूले तिनलाई भन्नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”
तब कप्तानले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो सेवक निको हुनेछ। किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज’ भन्छु अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु अनि त्यसले त्यो गर्छ।”
यो सुनेर येशू आश्चर्य चकित हुनुभयो, अनि आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो कुरा भन्दछु, मैले यति ठूलो विश्वास इस्राएलीहरूमा कसैमा पनि भेट्टाइनँ। म तिमीहरूलाई भन्दछु, कि धेरैजना पूर्व र पश्चिमबाट आउनेछन्, अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्नेछन्। तर राज्यका सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
तब येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो। उहाँले तिनको हात छुनुभयो, अनि ज्वरोले तिनलाई छोडिहाल्यो, अनि उठेर तिनले उहाँको सेवा गरिन्।
जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो, अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, अनि सबै रोगीहरूलाई निको पार्नुभयो। यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो:
“उहाँले हाम्रा कमजोरीहरू लिनुभयो,
अनि हाम्रा रोगहरू उठाइलानुभयो।”