YouVersion लोगो
खोज आइकन

मत्ती 26:17-35

मत्ती 26:17-35 NCV

अखमीरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंको निम्ति निस्तार चाडको भोज तयार पारौं भन्‍ने तपाईं चाहनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “शहरमा कुनै मानिसकहाँ जाओ अनि उसलाई भन, ‘गुरु भन्‍नुहुन्छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ” अनि चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे र निस्तार चाडको भोज तयार गरे। जब साँझ पर्‍यो, येशू बाह्रै जनासित टेबुलमा ढल्किरहनुभएको थियो। अनि उहाँहरूले खाइरहनुहुँदा उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू अति दुःखी भए अनि एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, त्यो निश्‍चय म ता होइन?” अनि येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसैले मलाई धोका दिनेछ। मानिसको पुत्र त मेरो विषयमा लेखिएअनुसार नै जानेछु। तर धिक्‍कार त्यस मानिसलाई जसले, मानिसका पुत्रलाई धोका दिनेछ! त्यो ता नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, त्यो निश्‍चय म ता होइन?” येशूले जवाफ दिनुभयो, “तिमी नै हौ।” जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिएर धन्यवाद दिनुभयो, अनि यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। यो करारको मेरो रगत हो, जो धेरैको पाप क्षमाको लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म दाखको फलबाट पिउनेछैनँ।” एउटा भजन गाइसक्नुभएपछि, उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसै रात मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, अनि बगालका भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भई उठेपछि, म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मैले कहिले पनि त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राती नै भाले बास्‍नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यसै भने।

मत्ती 26 पढ्नुहोस्