YouVersion लोगो
खोज आइकन

मत्ती 25:14-40

मत्ती 25:14-40 NCV

“फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए। तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्‍का, अर्कोलाई दुई झोला सुनका सिक्‍का र अर्कोलाई एक झोला सुनका सिक्‍का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे। पाँच झोला सुनका सिक्‍का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो। दुई झोला सुनका सिक्‍का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो। तर एक झोला सुनका सिक्‍का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो। “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे। पाँच झोला सुनका सिक्‍का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’ “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’ “दुई झोला सुनका सिक्‍का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’ “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’ “त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ। तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’ “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो? त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ। “ ‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ। किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ। अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’ “जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्‍नेछ। सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने। उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ। “तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्‍नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ। किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्‍यौ, मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्‍यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’ “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ? हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्‍यौँ अथवा वस्त्रको अभावमा पहिर्‍यायौँ? हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’ “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’

मत्ती 25 पढ्नुहोस्