YouVersion लोगो
खोज आइकन

मत्ती 24:23-51

मत्ती 24:23-51 NCV

त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर। किनकि झूटा ख्रीष्‍टहरू अनि झूटा अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई, ठूला-ठूला अलौकिक चिन्हहरू र आश्‍चर्यपूर्ण कामहरू गर्नेछन्। हेर, मैले तिमीहरूलाई पहिलेबाटै भनिदिएको छु। “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो विश्‍वास नगर। किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखापर्छ, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ। जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्। “ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै “ ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्‍नेछन्, अनि आकाशका शक्‍तिहरू डगमगाउनेछन्।’ “त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई शक्‍ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को स्वरसित पठाउनेछ, अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्। “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, तिमीहरू ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। त्यसरी नै जब तिमीहरूले यी सब कुराहरू भइरहेका देख्छौ, तिमीहरूले यो नजिकै, ढोकैमा छ भनी जान। म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्। “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्‍नुहुन्छ। जसरी नूहको दिनमा भएको थियो, त्यसरी नै मानिसका पुत्रको आगमनमा पनि हुनेछ। किनकि जलप्रलय अघिका दिनहरूमा नूह जहाजभित्र पस्‍ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुनेछ भनी थाहा नै थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। दुईजना मानिसहरू खेतमा हुनेछन्; एकजना लगिनेछ, अनि अर्को छोडिनेछ। दुईजना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछे अनि अर्की छोडिनेछे। “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। तर यो बुझिराख: यदि घरको मालिकले रातीको कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहने थिए, अनि तिनले आफ्नो घर फोरिन दिने थिएनन्। यसकारण तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेला आउनेछन्। “त्यसो भए त्यो विश्‍वासयोग्य र बुद्धिमान् सेवक को होला जसलाई त्यसका मालिकले घरका सेवकहरूलाई तिनीहरूका भोजन ठीक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्? उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकको लागि असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। तर यदि त्यो सेवक दुष्‍ट छ, अनि त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्यो, अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने, त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तिनले त्यसलाई टुक्रा-टुक्रा पारि काट्नेछन् र कपटीहरूको साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।

मत्ती 24 पढ्नुहोस्