तिनीहरू गइसकेपछि प्रभुको एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्ट देशमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीं बस, किनकि हेरोदले बालकलाई खोजेर मार्न खोज्दैछ।” यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राती नै इजिप्ट देशतिर प्रस्थान गरे, जहाँ तिनीहरू हेरोदको मृत्यु नभईन्जेल रहे। अनि यसरी परमेश्वरले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्ट देशबाट बोलाएँ।” जब ज्योतिषीहरूद्वारा आफू ठगिएको हेरोदले थाहा पाए, तब तिनी औधी रिसाए अनि ज्योतिषीहरूद्वारा ठीक पत्तो लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए। तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो: “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूको निम्ति रोएकी अनि तिनी शान्त हुन नमानेकी, किनकि तिनीहरू अब रहेनन्।” हेरोदको मृत्युपछि, प्रभुको एउटा दूत इजिप्ट देशमा सपनामा योसेफकहाँ देखा परे, अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको मुलुकमा जाऊ, किनकि बालकको जीवन लिन चाहनेहरू मरिसकेका छन्।” अनि तिनी उठे, बालक र तिनकी आमालाई लिई इस्राएलको मुलुकमा गए। तर जब तिनले हेरोदको ठाउँमा तिनका पिताको ठाउँमा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको जिल्लामा गए। अनि तिनी नासरत भन्ने शहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
मत्ती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:13-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू