YouVersion लोगो
खोज आइकन

लूका 9:37-62

लूका 9:37-62 NCV

भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो। भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो। एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ। त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।” येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।” त्यो केटो आउँदा-आउँदै दुष्‍ट आत्माले उसलाई भुइँमा पछार्‍यो र माडारमुडुर पार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो। तिनीहरू सबै परमेश्‍वरको महान् शक्ति देखेर आश्‍चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्‍क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।” तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्‍त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए। चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो। येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।” यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।” येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।” जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो। उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए। तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। उहाँका चेलाहरू याकोब र यूहन्‍नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्‍ने तपाईं चाहनुहुन्छ?” तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो, र उहाँहरू अर्कै गाउँतिर जानुभयो। उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।” अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।” येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्यको सेवामा योग्य हुँदैन।”

लूका 9 पढ्नुहोस्