YouVersion लोगो
खोज आइकन

लूका 18:15-30

लूका 18:15-30 NCV

मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले तिनीहरूलाई छोइदिऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए। तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो। म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैं ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक मात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैंले व्यभिचार नगर्नू, तैंले हत्या नगर्नू, तैंले नचोर्नू, तैंले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।” यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।” यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी अत्यन्तै सम्पत्ति भएका मानिस थिए। येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ! वास्तवमा कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छन्, ती परमेश्‍वरको लागि सम्भव हुन्छन्।” पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौं!” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ, त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।”

लूका 18 पढ्नुहोस्