“हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्। त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्। त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्। “त्यसपछि हारून भेट हुने पालभित्र जाओस्, र त्यसले महा-पवित्रस्थानभित्र जानुअगि लगाएका सुती पोशाकहरू फुकाएर तिनलाई त्यहीँ छोडिदेओस्। त्यसले आफूलाई एउटा पवित्र ठाउँमा पानीले नुहाओस्। अनि आफ्नो नियमित पोशाक लगाओस्। त्यसपछि बाहिर निस्केर त्यसले आफू र मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई, आफ्नै निम्ति होमबलि र मानिसहरूका निम्ति होमबलि चढाओस्। त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्। “त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्। प्रायश्चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्। तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्। “तिमीहरूका लागि यो एउटा रहिरहने विधि ठहरियोस्ः सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफैँलाई इन्कार गर्नू। अनि तिमीहरूले चाहे घरमा जन्मेको होस् अथवा तिमीहरूका बीचमा बस्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू। किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ। यो शब्बाथ विश्रामदिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो। प्रधान पुजारीको रूपमा आफ्नो बुबाको सट्टामा अभिषेक भई नियुक्त भएका पुजारीले प्रायश्चित गर्नुपर्छ। उसले पवित्र सुती कपडा लगाउनुपर्छ। अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्चित गरोस्। “यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एक पल्ट प्रायश्चित गरियोस्।” अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे।
लेवी 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 16:20-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू