YouVersion लोगो
खोज आइकन

लेवी 16:1-22

लेवी 16:1-22 NCV

हारूनका दुई छोराहरू याहवेहको नजिक जाँदा मृत्यु भएपछि याहवेह मोशासित बोल्नुभयो, याहवेहले मोशालाई भन्‍नुभयो: “तेरो दाजु हारूनलाई भन्, त्यसलाई मन लागेको जुनसुकै बेला सन्दुकमाथि भएको पाप समाधान-स्थानको सामु पर्दाको पछाडिको महा-पवित्रस्थानमा नआओस्, नत्रता त्यो मर्नेछ। किनकि पाप समाधान-स्थानमाथि म बादलमा देखा पर्नेछु। “हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्। त्यसले पवित्र सुती लबेदा र भित्री पोशाकहरू लगाओस्। त्यसले आफ्नो चारैतिर सुती पटुका बाँधोस्, र सुती फेटा लगाओस्। यी पोशाकहरू पवित्र हुन्। यसैकारण त्यसले आफूलाई पानीले नुहाएर मात्र ती लगाओस्। त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्। “त्यसपछि हारूनले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति साँढे चढाओस्। अनि त्यसले आफ्नो र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्। त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। अनि हारूनले ती दुई बोकाहरूका लागि चिट्ठा हालोस्—एउटा चिट्ठा याहवेहका निम्ति र अर्को छाडा छोडिने बोकाको निम्ति। हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्। तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्‍चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्। “हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्। त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्। त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन। त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्। “त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्। यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्‍चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ। हारून महा-पवित्रस्थानभित्र प्रायश्‍चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्‍चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन। “त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्‍चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्। त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्। “हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्‍चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्। त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्‍टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्। त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्।

लेवी 16 पढ्नुहोस्