YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 21:1-12

यूहन्‍ना 21:1-12 NCV

यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो: सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसित जान्छौं।” अनि तिनीहरू गए र डुङ्गामा चढे; तर रातभरि पनि तिनीहरूले एउटै माछा पक्रेनन्। बिहानको मिर्मिरेमा येशू किनारमा उभिनुभएको थियो; तर चेलाहरूले उहाँ येशू हुनुहुन्थ्यो भनी चिन्‍न सकेनन्। उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरूहो! तिमीहरूसँग केही माछाहरू छन् कि?” “छैन,” तिनीहरूले उत्तर दिए। उहाँले फेरि भन्‍नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू परे कि, तिनीहरूले जाल तान्‍नै सकेनन्। तब येशूले प्रेम गर्नुभएको चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नासाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। अरू चेलाहरूले माछाहरूले भरिएका जाललाई तान्दै डुङ्गामा आए, किनकि किनार प्रायः नब्बे मिटर जतिमात्र टाढा थियो। किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा र केही रोटी देखे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरूबाट ल्याओ।” सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍नओटा ठूला-ठूला माछाहरू थिए, र पनि जाल फाटेको थिएन। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।

यूहन्‍ना 21 पढ्नुहोस्

यूहन्‍ना 21:1-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति