YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 12:1-11

यूहन्‍ना 12:1-11 NCV

निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्‍ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्‍नेहरूमध्ये एक थिए। मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्‍नाले घर भरियो। उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्‍वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, “बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो। तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो। तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।” यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्‍ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए। त्यसकारण मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे। किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्‍वास गर्न थालेका थिए।

यूहन्‍ना 12 पढ्नुहोस्