यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए। फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।” योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।” तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ; अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ। अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए। तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ। “मेरो दोस्रो सपनामा मैले अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ। तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्नका सात वटा बालाहरू निस्के। ती पातला अन्नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।” तब योसेफले फारोलाई भने, “हजुरका सपनाहरू एउटै र उस्तै हुन्। परमेश्वरले के गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश पारिदिनुभएको छ। ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो। ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्। “मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ। इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ; तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ। यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन। फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्वरले यो कुरा चाँडै गर्नुहुनेछ। “अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्। ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्। तिनीहरूले यी आउने असल वर्षहरूका सबै अन्नहरू जम्मा गरेर सहरहरूमा भोजनका निम्ति प्रयोग गरिनलाई फारोको अख्तियारमा भण्डारण गरून्। यो अन्नचाहिँ इजिप्टमा आउँदैगरेको सात वर्षको अनिकालको समयमा प्रयोग गरिनलाई भण्डारमा जोगाइराख्नुपर्छ, ताकि देश अनिकालले नष्ट नहोस्।”
उत्पत्ति 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:14-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू