पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए। अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे। उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए। त्यसपछि अन्नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के। अनि ती पातला अन्नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए। बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्। तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ। एक पल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्नुभयो। हामी दुवैले एकै रात सपना देख्यौँ, र ती प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो। त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए। अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।” यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए। फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।” योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”
उत्पत्ति 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू