जो जति व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्, किनकि यस्तो लेखिएको छ: “व्यवस्थाको पुस्तकमा लेखिएको सबै कुरो पालन नगर्ने सबैजना श्रापित हुन्।” यो कुरा प्रष्ट छ कि, परमेश्वरको अघि व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।” व्यवस्थाचाहिँ विश्वासमा आधारित हुँदैन, यसको विपरीत “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जीवित रहन्छ।” हाम्रा निम्ति श्रापित बनेर व्यवस्थाको श्रापबाट ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो, किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “क्रूसमा झुण्डिने सबै श्रापित हुनेछन्।” उहाँले हामीलाई उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्, अनि विश्वासद्वारै हामी परमेश्वरको आत्माको प्रतिज्ञा पाउन सकौं। दाजुभाइ-दिदीबहिनीहरूहो, म एउटा प्रचलित उदाहरण दिनेछु। जब मानिसको सहमतिमा करारपत्र पक्का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न ता त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ। अब्राहाम र उनका सन्तानहरूलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले भन्दैन कि, “अनि उनका सन्तानहरूलाई,” मतलब धेरै मानिसहरूलाई भनेको छैन, तर “तिम्रो सन्तानलाई” भनिएको छ, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्ट हुनुहुन्छ। मेरो मतलब यो हो: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन र प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन। यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्वरले उहाँको अनुग्रहमा एक प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो। त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेलको लागि यो व्यवस्था स्वर्गदूतहरूद्वारा एकजना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्वर त एउटै हुनुहुन्छ। तब के व्यवस्था परमेश्वरको प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो। तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ, र जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ। तर विश्वास आउनु अघि हामी व्यवस्थाको अधीनतामा कैदी भएका थियौं, र विश्वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौं। यसकारण ख्रीष्ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्वासद्वारा धर्मी ठहरिन सकौं। अहिले त्यो विश्वास आएको छ। अब हामी अभिभावकको अधीनतामा छैनौ। यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तानहरू हौ।
गलाती 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 3:10-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू