“अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर। आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।” कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ, “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ। तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्, जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।” तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ। याहवेहले मलाई भन्नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।” जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए, तब याहवेह हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्यौँ। त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्ट गर्यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ। तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ। अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्वरले ती सबै देशहरू हामीलाई दिनुभयो। तर याहवेह हाम्रा परमेश्वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ।
व्यवस्था 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 2:24-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू