YouVersion लोगो
खोज आइकन

प्रेरित 7:17-43

प्रेरित 7:17-43 NCV

“अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो। तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्। “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो। जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्। मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे। यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए। तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्। भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे। “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’ यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे। “चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे। जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्‍चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्‍वरको यस्तो वचन सुने: ‘म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्। “त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो। इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्‍चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’ “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्‍वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए। इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए। “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’ मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए। “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’ त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए। तब परमेश्‍वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’

प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:17-43 को लागि भिडियो