YouVersion लोगो
खोज आइकन

प्रेरित 2:22-47

प्रेरित 2:22-47 NCV

“हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्‍वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्‍नुभएकै कुरा हो। यी कामहरू परमेश्‍वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’ “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो। पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।” जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?” पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ। किनकि परमेश्‍वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्‍नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्छ।” अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए। तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। प्रेरितहरूद्वारा धेरै अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। सबै विश्‍वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। अनि परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्‍नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्‍वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।

प्रेरित 2 पढ्नुहोस्

प्रेरित 2:22-47 को लागि भिडियो