YouVersion लोगो
खोज आइकन

1 पत्रुस 5:1-11

1 पत्रुस 5:1-11 NCV

तिमीहरूमध्येका मण्डलीका प्रधानलाई, म पनि एक प्रधानको रूपमा, जो ख्रीष्‍टको दुःखको साक्षी र जो प्रकट हुन लागेको महिमामा सहभागी हुनेछ, तिमीहरूलाई अनुरोध गर्दछु: तिमीहरूको हेरचाहमा भएका परमेश्‍वरका भेडाहरूको रखवालाको रूपमा गोठालो होओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्‍वरले चाहनुभएझैं तिमीहरूको इच्छाले; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर! अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ। हे जवानहरूहो, यसरी नै उमेरमा मण्डलीका प्रधानहरूको अधीनतामा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर, किनकि, “परमेश्‍वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण परमेश्‍वरको शक्‍तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। तिमीहरूका सबै चिन्ता उहाँमाथि राख, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैं यताउति घुमिहिँड्छ। विश्‍वासमा स्थिर भएर त्यसको प्रतिरोध गर, किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्‍ट भोगिरहेका छन्। सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ, तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि, उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्‍तिशाली बनाउनुहुनेछ। उहाँलाई नै पराक्रम सदा-सर्वदा भइरहोस्! आमेन!

1 पत्रुस 5 पढ्नुहोस्