YouVersion लोगो
खोज आइकन

1 पत्रुस 3:1-17

1 पत्रुस 3:1-17 NCV

हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्‍वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै, तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्‍वरको दृष्‍टिमा अति मूल्यवान् छ। किनकि परमेश्‍वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे; साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ। त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्। अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ। दुष्‍टताको सट्टा दुष्‍टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्‌को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ। किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ। तिनले दुष्‍टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ। किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्‍नलाई खुल्‍ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र? तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!” तर तिमीहरूका हृदयमा ख्रीष्‍टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर। तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्‍टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्। परमेश्‍वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो।

1 पत्रुस 3 पढ्नुहोस्