किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरें। म तिमीहरूकहाँ दुर्बलतामा डर र कम्पसाथ आएँ। मेरा शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा आधारित नहोस्, तर परमेश्वरको शक्तिमा आधारित होस्। तापनि हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौं, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूका बुद्धि होइन, जो नाश भएर जानेछन्। तर हामी ता परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौं, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौं भन्दा अघि नै निर्धारण गर्नुभएको थियो। यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाको प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। तापनि यसरी लेखिएको छ: “आँखाले नदेखेका, कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।” यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ। आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ। किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्वरका विचारहरू परमेश्वरको आत्माले बाहेक कसैले जान्दैन। हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्वरबाट पाएको आत्मा हो, ताकि परमेश्वरले हामीलाई सित्तैंमा दिनुभएका थोकहरू हामी बुझ्न सकौं। हामी जुन कुरा बोल्दछौं, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौं, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौं। जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ। आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊ आफैचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन। किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग त ख्रीष्टको मन छ।
1 कोरिन्थी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 2:2-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू