तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्। मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्। “तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्। “तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ। “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ। “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो? “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।
मत्तीको सुसमाचार 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 23:1-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू